२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खण्डग्रास सूर्यग्रहण जारी



काठमाडौँ । आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।

शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । आजको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्यसचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

वैज्ञानिक मूल्यमान्यताअनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यसपटकको सूर्यग्रहण भारतको उत्तराखण्डबाट ३८ मिनेटसम्म बलयाकारको देखिन्छ । सोसाइटीले युट्युब च्यानलमार्फत अहिले ग्रहणको प्रत्यक्ष प्रसारण गरिरहेको छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधा रेखामा हुँदा पृथ्वीमा चन्द्रमाको छायाँ पर्ने भएकाले सूर्यग्रहण लाग्ने सोसाइटीले जनाएको छ ।

प्रदेश नं १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय (पूरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाए । आजको सूर्यग्रहण विश्वका केही भागबाट पूरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिनेछ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ ।

आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए । 

प्रकाशित मिति : २०७७, ७ असार आइतबार ००:००  ७ : १० बजे