२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाकै १६७ क्षेत्र बाढीपहिरो र डुबानको उच्च जोखिममा




काठमाडौं । सरकारले प्रकोप व्यवस्थापनमा उचित कदम चाल्न नसक्दा उपत्यकाभित्रैका डेढ सयभन्दा बढी स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा छन् । खोला तथा नदी तटीय क्षेत्र र सार्वजनिक जग्गाजमिन अतिक्रमण, अव्यवस्थित बसोबास र एकीकृत बस्ती विकासको अभावले काठमाडौं, ललितपुर र भक्तपुरका १ सय ६७ ठाउँ मनसुनी प्रकोपको उच्च जोखिममा छन्

ती स्थानमा बाढी, पहिरो, डुबान तथा जीर्ण संरचना भत्किने जोखिम छ । अविरल वर्षा र त्यसपछि सिर्जित बाढी तथा पहिरोले यी क्षेत्रमा मानवीय र भौतिक क्षति गराउने जोखिम भए पनि सरकारले पूर्वतयारी र प्रतिकार्य योजना लागू गर्न सकेको छैन । यी स्थानको सम्भावित जोखिम व्यवस्थापनका लागि बेलैमा कदम चाल्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा विवरणसहित प्रतिकार्य योजना पेस गरे पनि तत्काल यसको सम्बोधन हुने देखिएको छैन ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार गृहमा पेस गरेको देशभरिको बाढी, पहिरो, डुबान, कटान र अन्य विपद्सम्बन्धी विवरण काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किनेलगायत प्रकोप हुन सक्ने भन्दै यसविरुद्ध बेलैमा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको र यस क्षेत्रवरपर विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा लागू गर्न सुझाव दिएको छ । भक्तपुरमा डुबान २२, बाढी ८ र पहिरो १३ स्थानमा जान सक्ने प्रक्षेपण गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जोखिमयुक्त क्षेत्र पहिचान गरिएको र त्यस अनुसन्धान सावधानीका लागि कार्ययोजना बनाइएको बताए । बस्ती विस्थापन र एकीकृत बस्ती निर्माण तत्काल सम्भव नभएकाले प्रकोपविरुद्ध अरू नै रणनीति अपनाइने उनले बताए ।

प्रतिकार्य योजना तयार भए पनि सम्भावित प्रकोप न्यूनीकरण तथा व्यवस्थापनका लागि खोजरउद्धार तथा राहतअन्तर्गत अस्थायी आवास, लत्ताकपडा, खाद्यान्न, औषधोपचारजस्ता मानवीय सहायतासम्बन्धी तयारी अझै भएको छैन । विपद् व्यवस्थापन ऐन, २०७४ ले संघ, प्रदेश र स्थानीय तहका सबै संरचना प्रकोपविरुद्ध एकीकृत रूपमा परिचालन गर्ने भनिए पनि सरकारको ध्यान कोभिड–१९ मै केन्द्रित छ । जसका कारण मनसुनी प्रकोपको जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल हुन सकेको छैन ।

२०५२ सालमै पूर्वन्यायाधीश रामबहादुर रावलको अध्यक्षतामा गठित ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ ले नदी तथा तटीय क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सरकारलाई सुझावसहितको प्रतिवेदन दिए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

यी हुन् राजधानीका जोखिमयुक्त क्षेत्र

राजधानीका वाग्मती, विष्णुमती, गोदावरी, हनुमन्ते, टुकुचा, मनोहरा तथा अन्य खोलारखोस्ला हुँदै बग्ने दुवैतर्फका तटीय क्षेत्र अतिक्रमित गरी बनाइएका संरचनालाई जोखिमको मुख्य कारण देखाइएको छ । वैज्ञानिक नापनक्साबिनै घर तथा भौतिक संरचना बनाउन दिने प्रवृत्तिका कारण पनि वर्षायाममा बाढी र डुबान हुने र त्यसबाट मानवीय क्षतिको पनि जोखिम औंल्याइएको छ ।

कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोर बस्ती, कीर्तिपुर नगरपालिकाका सल्यानथान, ट्याङ्लाफाँट, सुन्दरीघाट, काठमाडौं महानगरपालिकास्थित लाजिम्पाट, टुकुचा खोलाको आसपास, तारकेश्वर नगरपालिकाको जरङखु तथा शान्ति टोल, गुम्बारनयाँपुल करिडोर, वनस्थली ढुंगेधारा क्षेत्र, धोबी खोलारमैतीदेवी र थापाथली, चन्द्रागिरि नगरपालिकाका थानकोट, नमुना बस्ती, ढुंगेअड्डा पशुपति ट्रान्सपोर्ट क्षेत्र, बालकुमारी मन्दिर आसपास, लामाचौर, खड्कुलेपुल, कञ्चनबस्ती, विष्णुदेवी आसपासलाई डुबानको उच्च जोखिममा राखिएको छ ।

कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारस्थित वाग्मती नदी करिडोर, त्रिपुरेश्वरदेखि टेकुसम्म वाग्मती किनार, कलंकी–बल्खु खोलालाई बाढीग्रस्त क्षेत्रमा राखिएको छ । दक्षिणकालीका चुत्रघारी र हुमाने, म्हैपी मन्दिर परिसर, नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगा, छकडोल र टौखेल, चन्द्रागिरिका नागढुंगा, पिप्लामोड राजमार्ग क्षेत्र, ढाक्छी, गैरीगााउँ, गोदाम केबलकार आसपास र कंकाली डाँडा इलाका पहिरोको उच्च जोखिममा समेटिएका छन् । तर यी क्षेत्रमा बस्ती व्यवस्थापन र पूर्वतयारीका लागि कुनै पहल भएको छैन । शान्तिनगर, सुकुम्बासी बस्ती, बुद्धनगर वाग्मती करिडोर, धोबीखोला करिडोर, बूढानीलकण्ठस्थित धोबीखोला करिडोर पनि जोखिमको सूचीमा छन् । भूकम्पबाट क्षतिपछि सामान्य मर्मत गरिएका वसन्तपुर, झोंछे, मखन र रक्तकाली, इन्द्रचोक, असनलगायत क्षेत्रसमेत जोखिमको सूचीमा छन् ।

भक्तपुरका कौशलटारबाट बालकोट जाने पुल, मनोहरा सुकुम्बासी क्षेत्र, नरेफाँट, दिव्यश्वरी जग्गा एकीकरण, सागबारी, नयाँ ठिमी, कमेरोटार, राधेराधे निकोसेरा, सल्लाघारी इवामुरा अस्पताल क्षेत्र, कालीघाट खसाङखुसुङ खोला किनार, मंगल तीर्थ मन्दिर, राम मन्दिर, चुपिङघाट, सिद्धि स्मृति, लिवालीलगायत क्षेत्र डुबानको जोखिममा छन् ।

ललितपुरका गोदावरीस्थित टोकलबास, छम्पी, हुनमाठ, गोदावरी बडिखेल, मानडाँडा, विष्टछाप, उनिउचौर, कतुन भन्ज्याङ, ठोस्ने खोला, चौघरे, तिप्चे भन्ज्याङ, शंखु, दल्चौकीको ठोस्ने खोलालगायत क्षेत्र पहिरोको जोखिममा छन् । यो खबर मंगलबारको कान्तिपुर दैनिकमा छ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  ४ : ०८ बजे