भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सिक्किम नेपाल राहत स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री वितरण अभियान सञ्चालन गरेको छ।
सिक्किमका मुख्यमन्त्री पीएस गोलेको पहलमा नेपाल आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोलीले नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस, स्लिपिङ ब्याग लगायतका अत्यावश्यक राहत सामग्री वितरण गरेको हो।
टोलीको नेतृत्व सोनाम नोर्गे लाचुम्पाले गरेका छन्। उनका अनुसार विपद्का कारण समस्यामा परेका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। उनले निकट भविष्यमा सिक्किम सरकारको तर्फबाट थप राहत सामग्रीसहित नेपाल आउने तयारीसमेत रहेको जानकारी दिए।
राहत अभियानको समन्वय नवप्रवर्तन तथा विज्ञान प्रविधिमन्त्री महावीर पुन, नेपाली कांग्रेसका संघीय सांसद सन्दिप राणा तथा युवा व्यवसायी टीका भण्डारीले गरेका थिए।
यसअघि राहत टोलीको स्वागत, सम्मान तथा स्थानीयस्तरको समन्वय लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालको नेतृत्वमा गरिएको थियो। स्वागत तथा समन्वय कार्यक्रम बुढानीलकण्ठस्थित होटल सव्रीनामा आयोजना गरिएको थियो।
कार्यक्रममा विपद्को कठिन घडीमा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल–सिक्किमबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।
भोटेकोशी बाढीबाट नुवाकोटसहित विभिन्न जिल्ला प्रभावित भएका बेला सिक्किमबाट प्राप्त राहत सहयोगले प्रभावित परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री तथा अस्थायी आवासका लागि आवश्यक सामग्री उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुगेको आयोजकहरूले बताएका छन्।
टोलीका नेता सोनाम नोर्गे लाचुम्पाले सिक्किमका पूर्वमुख्यमन्त्री मनिक कुमार सुब्बा र नरबहादुर भण्डारीले भारतका विभिन्न स्थानमा रहेका नेपाली समुदायप्रति देखाएको आत्मीयता स्मरण गर्दै वर्तमान मुख्यमन्त्री पीएस गोले तामाङले पनि भारतभर बसोबास गर्ने नेपालीहरूको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताए। उनले नेपालमा विपद्का बेला सिक्किम सरकार र नेपाली समुदायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।










