२०८१, ७ मंसिर शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे ८ अर्बको बन्ने लक्ष्मीकल्याण गुराँस, तीन ठूला सहकारीबीच एकीकरण



काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा सञ्चालित भिन्न प्रकृतिका तीन ठूला सहकारी संस्थाहरूले एकीकरण सम्झौता गरेका छन् ।

काठमाडौंको खुसिबुँ स्थित लालीगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीकरण हो ।

एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हुने प्रारम्भिक सहमति भएको छ । एकीकरणपछि संस्थाको अध्यक्ष जीबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने पनि सहमति भएको छ । एकीकृत संस्थाको सञ्चालक समिति सात सदस्यीय र लेखा सुपरीवेक्षण समिति तीन सदस्यीय हुनेछ । तीन वटै सहकारीले साधारण सभा छिट्टै सक्ने र त्यसपछि एकीकृत सभा गरी एकीकरणलाई अन्तिम रुप दिने सहमति जुटाएका छन् । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), जिल्ला सहकारी संघ लगायतका प्रतिनिधिहरू, तीन वटै सहकारी संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरूको उपस्थितमा आज बिहान एकीकरण सम्झौता भएको हो ।

एकीकरणपछि संस्थाको सेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ भने सेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार ४ सय ६५ रुपैयाँ, अन्य कोषहरुमा ३ करोड ८२ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार ३ सय ७४ रुपैयाँ हुने जानकारी आज आयोजित कार्यक्रममा गराइएको थियो ।

त्यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख ९६ हजार ४ सय ५ रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहने प्रस्तावित संस्थाका अध्यक्ष राईले जानकारी दिए । ठुला सहकारीहरु बीचको एकीकरणले राम्रो सन्देश प्रवाह हुने बताउँदै अध्यक्ष राईले एकीकरणले छिट्टै अन्तिम रुपमा प्राप्त गर्ने बताए । संस्था ठुलो हुनु मात्र उपलब्धि नभई सही ढंगले सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै अध्यक्ष राईले सदस्य, कर्मचारी र सम्पूर्ण सञ्चालकहरुको साथले संस्थाले थप गति लिने दाबी गरे ।

लालीगुँरास बचत तथा ऋण सहकारी संस्था अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा भएको एकीकरण सम्झौता कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल रहेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि मल्लले सहकारी एकीकरण अहिलेको आवश्यकता रहेको बताउँदै छिट्टै एकीकरणलाई अन्तिम रुप दिन आग्रह गर्नुभयो । सहकारी एकीकरणको आवाज विगतदेखि नै उठाउँदै आएको बताउँदै उनले तीन ठूला सहकारीबीचको एकीकरण सम्झौताले आफु खुशी भएको बताइन् ।

कार्यक्रमका सभापति तथा लालीगुँरास बचत तथा ऋण सहकारी संस्था अध्यक्ष धनबहादुर तामाङले वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, संस्थागत सुशासन, अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्न यो एकीकरणले थप सहयोग पुग्ने बताए । एकीकरणपछि संस्थागत सुशासन बलियो हुने, सञ्चालन खर्च तथा अन्य खर्च कम हुने, सदस्यहरुको विश्वास बढ्ने, सदस्यलाई गुणस्तरीय तथा प्रभावकारी सेवा र चुस्त व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा आफूहरुले लिएको बताए ।

प्रकाशित मिति : २०७९, २४ भाद्र शुक्रबार ००:००  ३ : ३७ बजे