२०७९, २६ माघ बिहीबार | Thu Feb 9 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजाल ! जञ्जाल भित्र यथार्थ



पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाज धेरै हदसम्म सु-सूचित र जानकार भइसकेको छ। सञ्चार क्षेत्रमा आम जनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो। इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भनिन्छ।

यो सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप पनि हो। हात-हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले गर्दा जनसंख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिन सहज भएको हो र यसले सामाजिक सञ्जालमा समेत पहुँच राख्छ साथै यसको प्रयोगको दायरा व्यापक छ।

अहिले सामाजिक सञ्जालको प्रयोगको सन्दर्भमा विभिन्न ढंगले बहसमा विषयहरु आइ पनि रहेका छन् र यसको प्रयोग र विकासले समाजका राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरुमा फेरबदल ल्याई पूराना मान्यताहरु भत्किएर नयाँ सोचको व्यापक फैलावट पनि भएको छ।

हरेक पेसा र क्षेत्रका व्यक्तिले प्रयोग गर्न सकिने सरल र सहज प्रविधि भएकोले अहिले यो व्यक्तिको साथीजस्तै बनेको छ। यसलाई सूचना प्रविधिको क्षेत्रमा भएको एउटा क्रान्तिका रुपमा अर्थ्याउन पनि सकिन्छ। हामीले यहाँ सूचनाको प्राविधिक पक्षमा भन्दा यसका सामाजिक प्रभाव र असरहरुका क्षेत्रमा रहेर बढी चर्चा गर्नेछौं।

बितेको केही समयदेखि अहिलेसम्म नियाल्दा अनलाइन सञ्चारको प्रभाव बढी छ। तर यसमा भइरहेको विकाससँगै सूचनाको विश्वसनियता र तटस्थतामाथि पनि उत्तिकै प्रश्नहरु उठि नै रहेका छन्। सामाजिक सञ्जालको प्रभाव त अझै तीव्र देखिन्छ। यसको प्रयोगबाट समाजमा सकारात्मक परिणामका असल उदाहरण प्रस्तुत गर्ने काम पनि युवा पुस्ताले गरिरहेको देखिन्छ र यसको गलत उपयोगले निम्त्याएको परिणाम पनि समाजमा देखिइनै रहेको छ।

सीमित अनलाइनलाई छोडेर अहिले बग्रेल्ती देखिने पोर्टलले सही सूचना प्रवाह गर्ने भन्दा पनि यसको गलत प्रसारले गर्दा सूचना प्रणाली नै बिगार्ने त होइनन् भनेर सोच्नु पर्ने असामान्य स्थिति पनि सतहमा देखिएको छ। विभिन्न राष्ट्रहरुमा उपयुक्त कानुनी उपायद्वारा यस्ता खाले झूठा प्रचार, गलत विज्ञापन र सूचना प्रवाहलाई उचित ढंगको नियन्त्रण र सही सूचना प्रणालीलाई नियमन र प्रोत्साहन गरिएको पाइन्छ।

हामीकहाँ पछिल्लो समयका सरकारले मिडिया काउन्सिल विधेयक ल्याउने तयारी गर्दा विभिन्न कोणबाट आएका धारणाहरु बहस र विरोधमा पनि देख्नमा आए तर यसको सही प्रयोग, विकास र उपयोगितालाई मध्यनजर राखेर कानुन बन्नु महत्त्वपूर्ण कुरा हो र यसको आवश्यकताको महसुस पनि भइसकेको छ। तर यसो भनिरहँदा व्यक्तिको सूचनाको हकको ग्यारेन्टी गरिनुपर्छ।

सामाजिक सञ्जाललाई नियमन गर्न साइबर ब्युरोको व्यवस्थापनको पक्षलाई अझै प्रभावकारी बनाउन आवश्यक छ। होइन भने सामाजिक सञ्जाल नै असामाजिक बन्ने त होइन भन्ने जोखिम पछिल्ला दिनमा देखिएका अभ्यासले बताइनै रहेको छ। व्यक्तिलाई आत्मसम्मानमा ठेस पुग्नेगरी विषयहरु आउनु, गोपनिय रहनुपर्ने कतिपय कुराहरु छताछुल्ल सार्वजनिक हुनुजस्ता कुराहरु पनि सही उपयोगको ज्ञानको कमी अथवा अराजक गतिविधि गर्ने मानसिकताको कारण नै मान्नुपर्छ। परिणामतः यसले गम्भीर सामाजिक विचलन ल्याउन सक्ने खतरा त उत्तिकै छँदैछ।

अनलाइन सूचना र सामाजिक सञ्जाल सूचना आदानप्रदान, जानकारी र सिकाइको महत्त्वपूर्ण माध्यम हो। पछिल्लो लकडाउन अवधिमा यसलाई नै प्लेटफर्म बनाएर विभिन्न सञ्जालमा माध्यमहरुको प्रयोगले शिक्षण सिकाइ, छलफल, अन्तरक्रिया, सेमिनार र विश्वविद्यालयका समेतका महत्त्वपूर्ण कार्यसम्पादन समेत सम्पन्न गरिए जुन यसको असाध्यै सकारात्मक पक्ष रह्यो।

सँगैसँगै अस्वस्थ तवरले विकास हुँदै गइरहेको अनियन्त्रित सूचना प्रणाली र सामाजिक सञ्जालको अभ्यासले आम नागरिकलाई सत्य र सही सूचनाबाट वञ्चित तुल्याउने र नियोजित ढंगबाट भ्रमपूर्ण अभ्यासको माध्यम बनिरहेको देख्न सकिन्छ। विभिन्न राजनीतिक दल र फरक-फरक स्वार्थ समूहले सामाजिक सञ्जाललाई गलत प्रचारप्रसारको माध्यम बनाउने र निहीत उद्देश्यका निम्ति प्रविधिको दुरुपयोग गर्दा आम नागरिकमा गलत सूचना प्रवाहित भई समाज विकासको पक्षमा पनि यसले नकारात्मक प्रभाव छोडिरहेको पनि देखिन्छ।

सामाजिक सञ्जाललाई एकअर्काको विरुद्धमा अस्त्र बनाएर प्रयोग गर्ने, बदनाम गर्न खोज्ने, अनावश्यक टिकाटिप्पणीको थलो बनाउन खोज्ने, संगठित साइबर समूह बनाउने, अमर्यादित गालीगलौजमा उत्रिने, अशिष्टता प्रदर्शन गर्ने, तथ्यहीन जानकारी दिएर जनस्तरमा भ्रममा पार्ने, अश्लीलता प्रदर्शन गर्ने, समाज र राष्ट्रलाई हानी गर्ने कुरा शेयर गर्नेजस्ता गलत क्रियाकलापले नयाँ पुस्तालाई दिग्भ्रमित, चेतनाशून्य र दिशाहीन अवस्थामा पुर्याउन सक्ने कहालीलाग्दो चित्र आँखा अगाडि नै घुमिरहेको पनि छ।

त्यसैले सामाजिक सञ्जाललाई आफ्नो निहीत स्वार्थ र मनोरञ्जनको साधन मात्र नबनाएर यसमा खर्च हुने समय उत्पादनशील विषयमा उपयोग गरौं। आफ्नो अध्ययन अनुसन्धान र राष्ट्रको हितमा सञ्जालको प्रयोग गरी ज्ञान प्रणालीलाई विकसित तुल्याउन उपयोग गर्न सकिन्छ। निजी र सार्वजनिक सेवा प्रवाहमा समेत यसको प्रयोगबाट समूचित फाइदा लिन सकिन्छ।

सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, आफ्नो लगनशीलता र काममा श्रेष्ठता हासिल गर्न र राष्ट्र हितमा प्रयोग गर्न सकिन्छ। संजाललाई समाजको जनचेतना बढाउन र वृहत्तर हितमा उपयोग गरौं। साइबर सुरक्षामा चनाखो र सतर्कता कायम राखौं।

भाइरल हुनु मात्रै ठूलो कुरा होइन, सूचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई मनन गरेर अघि बढौं। सामाजिक सञ्जाल र सूचना प्रणालीले समाजलाई जोड्ने र सकारात्मकता तर्फ लैजान सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ।

प्रकाशित मिति : २०७९, २५ भाद्र शनिबार ००:००  ४ : ४४ बजे