२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंहको सम्भावना बलियो

लामा भन्छन् 'मुख्यमन्त्रीमा मेरो दावी स्वभाविक छ । सम्भवतः निर्विरोध संसदीय दलको नेता हुन्छु नभए भोटमा पनि म जित्छु ।’



काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामाको सम्भावना बलियो बनेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको मतरिणाम आएसँगै लामाले बागमतीमा आफुलाई मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा उभ्याएका हुन् ।

लामाले केन्द्रीय नेता, गठबन्धनका घटक दल र प्रदेशसभाका नवनिर्वाचित सांसदहरुसँग भेटघाट गरेर आफ्नो दावी प्रस्तुत गरेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने लामा पार्टीको संसदीय दलको नेता सर्वसम्मत हुनेमा ढुक्क छन् ।

प्रतिनिधिसभाको टिकट त्यागेर प्रदेश निर्माणको संकल्पसहित प्रदेशसभाको उम्मेदवार बनेका लामा बागमतीको मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् ।

पावर शेयरिङमा बागमतीको मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना छ । कांग्रेसको भागमा मुख्यमन्त्री पर्दा संविधानसभा सदस्य एवं प्रतिनिधिसभाको सांसद भइसकेका कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा सबैभन्दा बलिया मानिन्छन् ।

बागमतीमा नेपाली कांग्रेसभित्रबाट मुख्यमन्त्रीमा बहादुरसिंह लामा र इन्द्र बानियाँको दावी छ । आन्तरिक समीकरणमा बानियाँ भन्दा लामा बलिया छन् । बानियाँ यसअघि पनि संसदीय दलको नेता थिए तर नेतृत्वले नरुचाएकाले उनले मुख्यमन्त्री बन्ने अवसर पाएनन् । फेरि पनि उनलाई संसदीय दलको नेता बनाउन कांग्रेस नेतृत्व तयार नरहेको एक केन्द्रीय सदस्यले बताए ।

पार्टीको शिर्ष नेता मात्र नभई जातीय क्लस्टर मिलाउनुपर्ने बाध्यताको हिसावले पनि लामाको सम्भावना बलियो रहेको लामा निकट स्रोत बताउँछ ।

तथ्यांकअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ छ । तामाङ यस प्रदेशको सबैभन्दा ठूलो जातीय समूह हो । यस प्रदेशमा कुल जनसख्याको २०.५४ प्रतिशत तामाङ जाति रहेका छन् ।

१३ जिल्ला रहेको बागमती प्रदेशमा ६ जिल्लाका कांग्रेसका सभापति तामाङ समुदायकै छन् । दोलखामा बर्मा लामा, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), रसुवामा पेम्बाछिरिङ्ग तामाङ्ग, सिन्धुपाल्चोकमा जंगबहादुर लामा, काभ्रेमा तीर्थबहादुर लामा र मकवानपुरमा बुद्ध लामा कांग्रेसका सभापति हुन् । उनीहरु सबै बहादुरसिंह लामालाई सर्वसम्मत कांग्रेस संसदीय दलको नेता बनाउने अभियानमा लागेका छन् ।

लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन सर्वसम्मत नभए प्रजातान्त्रीक विधिबाट भएपनि  संसदीय दलको नेता चयन गर्न बागमती कांग्रेसका शिर्ष नेताहरु लागेका छन् । लामालाई संसदीय दलको नेता बनाउन कांग्रेसका केन्द्रीय नेताहरुले समेत लविङ समेत तिव्र बनाएका छन् ।

पार्टीका प्रवक्ता प्रकाशशरण महत, सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना तथा प्रभावशाली केन्द्रीय सदस्य मोहन बस्नेतलगायतका नेताहरु बहादुरसिंह लामालाई मुख्यमन्त्री बनाउने अभियानमा लागेका छन् । बागमती प्रदेशसभामा राम्रो पकड राख्ने नेता प्रकाशमान सिंहले समेत लामालाई बागमतीको मुख्यमन्त्रीमा समर्थन गर्ने संकेत गरिसकेका छन् ।

बागमती प्रदेशमा कांग्रेसले २५ सिट प्रत्यक्ष जितेको छ । सबैभन्दा धेरै मतान्तरले निर्वाचन जित्ने मध्ये लामा १ नम्बरमा पर्छन् । उनले बागमतीका धेरै कांग्रेस उम्मेदार जिताउन भूमिका समेत खेलेका थिए । स्थानीय तहको निर्वाचन देखि सं र प्रदेशको निर्वाचनमा समेत लामाले कांग्रेस उम्मेदवारहरुलाई विजयी गराउन भूमिका खेलेका थिए । संसदीय दलमा लामाका प्रतिस्पर्धी मानिएका इन्द्र बानियाँलाई भने पार्टीमा घात गरेको  आरोप लागेको छ । मकवानपुरमा जीत सुनिश्चित देखिएको सह–महामन्त्री डीना उपाध्यायलाई हराउन बानियाँले अन्तरघात गरेको आरोप छ । 

कांग्रेस पार्टी भित्र स्वच्छ र ईमानदार राजनितिक छवि भएका लामा गठबन्धनका शिर्ष नेताहरुले पनि रुचाउने नेतामा पर्छन् । निर्वाचनमा आफु चुनावी मैदाममा रहँदा पनि गठबन्दनले निर्वाचन जित्नुपर्छ भनेर सोही क्षेत्रको अर्को प्रदेशमा माओवादी तर्फ उमेद्वार बनेका रामप्रसाद ढुङ्गानालाई जिताउन लामाले भूमिका खेलेका थिए । बागमतीमा गठबन्धनका उम्मेदवार जिताउन प्रदेशभर कार्यकर्तालाई लामाले विशेष निर्देशन दिएका थिए ।

आफ्नो क्षेत्रमा विकासको जग बसाएका बहादुरसिंह लामा मुख्यमन्त्री भएर प्रदेशको समग्र विकासमा नयाँ आयाम थप्ने योजनामा रहेको बताउँछन् । आफु मुख्यमन्त्रीको स्वभाविक उम्मेदवार भएको उनको दावी छ । ‘मलाई मुख्यमन्त्री बनाउने योजनासहित पार्टीले प्रदेशमा पठाएको हो । सबै हिसाबले मुख्यमन्त्रीमा मेरो दावी स्वभाविक छ । सम्भवतः निर्विरोध संसदीय दलको नेता हुन्छु नभए भोटमा गएपनि म जित्छु ।’ लामाले अनलाइन सरोकारसँग भने,‘कांग्रेसको मात्रै होइन म गठबन्धनको साझा मुख्यमन्त्रीको उम्मेदवार हुँ । भित्तामा फोटो टाँस्न मात्रै होइन प्रदेशलाई समृद्ध बनाउन म अघि बढेको छु ।’ आफ्नो लामो राजनितीक अनुभवका आधारमा प्रदेश सरकारको औचित्य पुष्टिहुनेगरि काम गर्ने उनले बताए ।

प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने प्रदेशसभा सदस्य नै मुख्यमन्त्री हुन्छ । यहाँ गठबन्धनको बहुमत छ । गठबन्धन लामाको पक्षमा छ ।

बागमतीमा गठबन्धनकै सरकार

बागमती प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ। प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ गरी ११० सांसद् रहने प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको छ। दोस्रो दल माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा सात गरी २१ सिट जितेको छ। सरकार बनाउन दुई दलकै बहुमत पुग्छ। चुनावका सहयात्री दल एकीकृत समाजवादीले प्रत्यक्षमा पाँच र समानुपातिकमा दुई गरी सात सिट जितेको छ।

एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेको छ। उसले सरकार बनाउन चाहेमा प्रत्यक्षमा सात र समानुपातिकमा छ गरी १३ सिट जितेको राप्रपासँगै माओवादी केन्द्रको पनि साथ लिनुपर्नेछ। बागमती प्रदेशमा नेमकिपाले प्रत्यक्षमा एक र समानुपातिकमा दुई सिट, हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा एक सिट जितेको छ।

किन कमजोर बने इन्द्र बानियाँ ?

अघिल्लोपटक प्रत्यक्ष ७ र बाँकी समानुपातिक गरी २३ सदस्य रहेको नेपाली कांग्रेसलाई यसपटक प्रदेशमै ठूलो बनाएको श्रेय बोकेका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग पछिल्लो समय बालुवाटार र बुढानीलकण्ठ दुवै शक्तिकेन्द्र रिसाएको स्रोत बताउँछ । खासगरी राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछि बानियाँको तजबिजमा बनेका प्रदेश मन्त्रीहरुबारे बानियाँले केन्द्रसँग छलफल पनि गरेनन् । आफ्ना ‘एसम्यान’हरुलाई मन्त्री बनाएर उनले ठेक्कापट्टादेखि स्वकीय राख्ने मामलामा पनि मन्त्रीहरुलाई हस्तक्षेप गरेर केही आफ्ना कार्यकर्ता सेट गरेपछि मन्त्रीहरुले खुलेर विरोध नगरे पनि केन्द्रलाई जानकारी गराएका थिए ।

यतिमात्र होइन, भौतिक पूर्वाधार मन्त्रालय, स्वास्थ्य मन्त्रालयका कामकाजमा बानियाँको ठाडो हस्तक्षेप थियो । स्वास्थ्य मन्त्रालयले किन्न लागेको सिटीस्क्यान मेसिनमा बानियाँकै नाममा मन्त्री निमा लामा र सचिव बद्री खड्काले कम्पनीहरुलाई कमिसन मागेको सूचना शेरबहादुर देउवासम्म पुगेको थियो । आफ्नालाई स्पेस लकसमेत ओपन गरेर सेटिङमा काम गरी हाकाहाकी सचिवलेसमेत ‘बानियाँ दाइको भाग’ भनेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले बैठक नै बसेर टेण्डर रद्द गर्नुपरेको थियो ।

यो प्रकरणपछि इन्द्र बानियाँले अर्को काम गरे, मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर अभियान । २०४८ सालदेखि सँगै संसदमा रहेका राजेन्द्र पाण्डे र शेरबहादुर देउवाबीच सम्बन्ध सुमधुर नै छ । अर्कातिर प्रत्यक्षतर्फ ३३ सिट जितेका देउवालाई सत्तामा पु¥याउने माधवकुमार नेपालको पार्टीका पाण्डे वरिष्ठ उपाध्यक्ष हुन् । उनै पाण्डेसँग भएको सहमति कार्यान्वयन गर भनेर हठात् माओवादीका युवराज दुलालसँग मिलेर बानियाँले पाण्डेविरुद्ध हस्ताक्षर अभियान चलाए । जतिखेर हेटौँडामा हस्ताक्षर अभियान चलिरहेको थियो, त्यतिखेर पाण्डे शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालसँगै बालुवाटारमा थिए, निजगढ विमानस्थल निरीक्षणमा थिए । कहीँकतै पाण्डेलाई माथिका तीन नेताले के भएको भनेर सोधपुछसमेत गरेनन् ।

यो प्रकरणमा कमजोर देखिएपछि दुलाल अहिलेसम्म मौन छन् भने बानियाँ पनि सेटब्याक भए । तर बालुवाटारमा कांग्रेसकै नेताहरुले कुरा पु¥याइहाले, ‘आफ्नै गठबन्धनभित्र तपाईंलाई नसोधी बानियाँले हस्ताक्षर अभियान चलाएर कांग्रेसको बदनाम गरे, तपाईं किन बानियाँलाई ‘स्पेस’ दिएर हाम्रो हुर्मत लिइरहनुभएको छ । ’ भौतिक पूर्वाधार मन्त्रालयमा पनि बानियाँले उस्तै हालिमुहाली गरे । मन्त्रीलाई काम गर्न दिएनन् । आफ्नाहरुलाई रकम बाँडे । यो निर्वाचनमा पनि बानियाँले आफूनिकट पत्रकारहरुलाई स्वास्थ्य मन्त्रालयको ६ लाख रुपैयाँ कागज मिलाएर गुपचुप बाँड्न लगाएको आरोप छ ।

यी सबै विषयहरु बालुवाटारमा रिपोर्टिङ भइरहेको विषय थियो ।
बानियाँले स्थानीय तह निर्वाचनमा पनि एक महिलालाई जसरी पनि टिकट दिनुपर्छ भनेर कार्यसमिति बैठकमा गलफत्ती गरेपछि महामन्त्री राजु श्रेष्ठले माइन्युट नै फालेर हिँडेका थिए । बैठकमा उपस्थित कांग्रेस केन्द्रीय सदस्यहरुलाई पनि बानियाँले अपमान गर्दै मलाई निर्णय गर्न दिनुहोस्, बाहिर गइदिनुहोस् भनेको कुरा बालुवारमा पुगेकै थियो ।

यही निर्वाचनमा मकवानपुरको दुवै क्षेत्रमा गठबन्धन हारेको छ । पार्टी को आठौँ वरियताका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रशस्त मत हुँदाहुँदै पनि राप्रपासँग हार खानुपरेको छ भने २४ हजार भन्दा बढी मत भएको मकवानपुर २ मा पनि २०४८ देखि संसदमा शेरबहादुर देउवासँगै रहेका र देउवाकै मन्त्रिमण्डलमा रहेका विरोध खतिवडा हारेपछि कांग्रेसको १ नम्बरको अन्तर्घातले २ नम्बरमा पनि विरोध खतिवडामाथि अपराध भयो भनेर डिनाले आफू निकटहरुको छलफलमा सुन्नुप¥यो । कांग्रेस मकवानपुरको आन्तरिक कुण्ठा फेसबुकदेखि सामाजिक सञ्जालमा छताछुल्ल भइरहेको छ । यी सबै प्रकरणमा बानियाँ खुलेर लागेको रिपोर्ट बालुवाटार पुगेपछि पछिल्लो समय बानियाँ देउवा क्याम्पमै अलोकप्रिय र धोकाधडीमा खेल्ने पात्र भनेर शंकाको रुपमा हेरिन थालेको कांग्रेस स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७९, २६ मंसिर सोमबार ००:००  ११ : ४८ बजे