२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा चैते छठ मनाइँदै



झापा । तराई क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठ पर्व मनाइँदै छ। चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने पर्वको मुख्य दिन सोमबार व्रतालुले निराहार व्रत सुरु गरेका छन्।

षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य (अर्घ) दिने परम्परा छ। यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ। कम्मरसम्म पानीमा चोपलिएर सूर्यलाई अर्घ्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ।

सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अर्घ्य दिई व्रत समापन गरिन्छ। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ।शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ।

यो व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै वेलादेखि प्रारम्भ भएको मानिन्छ। यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ।

प्रकाशित मिति : २०७९, १३ चैत्र सोमबार ००:००  २ : ११ बजे