२०८१, १९ असार मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा पहिरोले ५ घर परिवार विस्थापित



ओखलढुंगामा पहिरोले ५ घर परिवार विस्थापित भएका छन् । अबिरल बर्षाका कारण गएको पहिरोले जिल्लाको मोलुङ गाउँपालिका ७ जेसे गौरीडाँडाका ५ घर परिवार विस्थापित भएका र २३ घर परिवार जोखिममा परेका हुन् ।

पहिरोका कारण स्थानीय टेक बहादुर पहरी, पेशल बहादुर पहरी, मान बहादुर पहरी, अम्बर बहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई पहिरोको उच्च जोखिम रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । पहिरोका कारण सोही स्थानका अन्य २३ घर जोखिममा छन् । जोखिमयुक्त घर परिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको छ ।

पहिरोका कारण सोही वडाको रतनेमा पनि घरहरु जोखिममा परेका छन् । पहिरोले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेको दुई वटा माउ भैसी, दुई वटा राँगा र अर्का स्थानीय मिन बहादुर तामाङको गोठ माथिको कान्लो भत्किएर झरी गोठ पुरिदा एउटा राँगा पुरिएकोमा उद्वार गरी सुरक्षित ठाउमा राखिएको वडाअध्यक्ष हेमबहादुर सुनुवारले बताए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार रतनेका भक्त बहादुर तामाङ, सिंह बहादुर तामाङ, महिरानी तामाङ, पेम्वा तामाङ र मिन बहादुर तामाङको घर पहिरोको जोखिममा रहेकोले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ ।

पहिरोले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेट मार्फत निकालिएको विद्युतमा क्षति पुगेको छ भने बालीनालीमा समेत गरेर लाखौँको क्षति भएको र क्षतिको विवरण संकलनको काम पनि भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तलबाट पहिरोले तानेपछि जेसेमाविको भवन समेत जोखिममा परेको छ ।

जिल्लाभर पहिरोको जोखिम बढेको छ ।

वर्षेनी बाढीपहिरोबाट जनधनको क्षति हुने गरेको छ । यसवर्ष पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०८१, १८ असार सोमबार ००:००  ६ : ३४ बजे