२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोटमा लगानी गरेर नोट कमाउँदै बाजुराको हिमाली गाउँपालिका

गरिबी, भोकमरी र कुपोषण अन्त्य गर्ने लक्ष्य



बाजुराको हिमाली गाउँपालिकाले बोटमा लगानी गरेर नोट कमाउने नीतिलाई प्राथमिकता दिएको छ । ‘आजको लगानी बोट, भोलीको प्रतिफल नोट’ को नीति अनुसार फलफुलका विरुवा किनेर नागरिकलाई निःशुल्क दिने र फलफुल खेती मार्फत स्थानीयको आयस्रोत बढाउने कार्यक्रमलाई हिमालीले प्राथमिकतामा राखेको हो ।

अन्नबाली भन्दा फलफुल उत्पादनको बढी सम्भावना भएको हिमालीमा फलफुल बेचेर किसानले आम्दानी गर्न सक्ने र फलफुलका विरुवामा १ पटक लगानी गरेपछि किसानले वर्षौवर्ष आम्दानी लिनसक्ने भएकाले बोटमा लगानी गरेर नोट कमाउने नीतिमा जोड दिइएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । अघिल्ला वर्षहरुमा पालिकाले निःशुल्क दिएका बोट विरुवा हुर्काउने किसानलाई प्रति बोट ५ किलो चामल समेत दिने गरिएको थियो । पालिकाले निःशुल्क बोट दिएर हुर्काएबापत चालम दिने कार्यक्रम लागू गरेपछि हिमालीका कृषक परम्परागत खेती छाडेर फलफुलका विरुवा रोप्न थालेका छन् । यसरी विगतमा रोपिएका विरुवा फल्न थालेका छन् ।

विगतमा विरुवा दिने र हुर्काउनेलाई चामल दिने कार्यक्रम राखिएकोमा यसवर्ष उक्त कार्यक्रम परिमार्जन गरेर गाउँमा उत्पादित फलफुलको बजारीकरणमा सहयोग गर्ने नीति ल्याइएको अध्यक्ष मल्लको भनाई छ । फलफुलबाटै हिमाली गाउँपालिकाका किसानको उन्नति हुने र पालिकाको समृद्धिमा टेवा पुग्ने साथै गरिबी, भोकमरी र कुपोषण अन्त्य हुने अध्यक्ष मल्लको दावी छ ।

हिमाली गाउँपालिकाको खाद्यसुरक्षाका लागि वृक्षारोपण कार्यक्रम निकै लोकप्रिय छ । सुरुमा किसानलाई निःशुल्क विरुवा र विरुवा रोप्न बानी पार्न प्रतिबोट हुर्काएबापत ५ किलो चामल दिएर फलफुल खेतीमा किसानलाई अभ्यस्त बनाएको पालिकाले अब खाद्यन्नको सट्टा उत्पादित फलफुलको बजारीकरणका लागि अनुदान दिने भएको छ ।

हिमालीले कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

कृषि जन्य वस्तुको आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गराउन पालिकाले योजनावद्ध काम गरिरहेको छ ।

हिमालीका किसानले उत्पादन गरेको फलफुल र नगदेबालीको भण्डारणका लागि पालिकाको केन्द्र धुलाचौरमा कृषि सित गृह (कोल्ड स्टोर) निर्माण गरिँदैछ ।

नगदे, रैथाने र फलफुल खेती हिमालीको पहिचान, आयात घटाई निर्यात बढाउने हाम्रो अभियान भन्ने नीति लिएको हिमालीले कृषिको आधुनिकीकरण गरेर किसानलाई व्यवसायिक खेतीमा आकर्षित गराउँदै आर्थिक तथा प्राविधिक सहयोग दिँदै आएको छ ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार ००:००  १ : १५ बजे