२०८१, १२ पुस शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिब्जुलाई पर्यटकीय गन्तव्य बनाईँदै



पूर्णप्रसाद न्याैपाने
अनलाइन सराेकार

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने चर्चित धार्मीक स्थलका रुपमा रहेको लिब्जु क्षेत्र

लिब्जुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने चर्चित धार्मीक स्थलका रुपमा रहेको लिब्जु क्षेत्रलाई पर्यटकको रोजाईमा पार्न पूर्वाधार निर्माणको काम थालिएको हो ।

पूर्वाधार अभाव र प्रचारप्रसारका कारण ओझेलमा रहेको लिब्जुमा सिँढी सहितका संरचना निर्माणको काम थालिएको छ । प्रदेश सांसद मोहनकुमार खड्काको पूर्वाधार विकास कोषको ७ लाख बजेटबाट लिब्जुमा दुई सय वटा सिँढी बनाईएको छ । संघ सरकार मातहतको पर्यटन मन्त्रालयबाट प्राप्त ५ लाख बजेटबाट पनि पूर्वाधार निर्माणको काम भईरहेको मानेभञ्ज्याङ गाउँपालिका २ वाक्साका वडा अध्यक्ष उमेश कार्कीले बताए । लिब्जुलाई मानेभञ्ज्याङ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सहित काम भईरहेको उनको भनाई छ । ‘लिब्जुमा पर्यटनको प्रचुर सम्भावना छ त्यसलाई चुम्ने प्रयास गरिरहेका छौं ।’ वडा अध्यक्ष कार्कीले भने,‘संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा पारेर पर्यटन वर्षको एउटा महत्वपूर्ण गन्तव्य लिब्जु बनाउने उद्देश्य हो ।’ भक्तजनलाई सजिलो पार्न तलदेखी माथिसम्म सिँढी बनाउने योजना रहेको उनले सुनाए । वडाले लिब्जुको विकासका लागि पहल गर्न प्रत्येकवर्ष योजना अघि सार्दै आएको छ ।

लिब्जुमा निर्माण गरिएकाे सिंडी

पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसि जाने बाटो नजिकै लिब्जु पर्दछ । लिब्जु क्षेत्रलाई पूर्विपहाडको धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने सांसद मोहन कुमार खड्काले बताए । ‘स्थानीय साथीहरुको सकृयता राम्रो छ, काम भईरहेकै छ । हामी बजेट अभाव हुन दिन्नौं ।’सांसद खड्काले भने,–‘हलेसी आउने हुन् वा सगरमाथा जाने उनिहरु एक पटक लिब्जु घुम्न आउने बनाउँछौं ।’ सांसद खड्काले लिब्जु, ककनी, सिद्धघाम,मालिङ्गे र पोकली सहितका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरेका छन् ।

मानेभञ्ज्याङ्ग गाउँपालिकाले पनि लिब्जुकाे विकासका लागि पहल थालेकाे छ ।

कहाँ छ लिब्जु ? के हो इतिहास ?

समुन्द्र सतहबाट करिब १ हजार ९ सय ५७ मिटरको उपचाईमा ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा । मानेभञ्ज्याङ गाउँपालिका भित्र उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित लिब्जु डाँडाबाट तराईका फाँट र उत्तरमा विश्वको सर्वोच्च शिखर सगरमाथा देख्न सकिन्छ ।
घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो रहेको धार्मीक विश्वास छ । स्थानीय वाम्बुले राईहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या दाजुभाइ देवताका रुपमा पुकार्ने गर्दछन् । भुम्जु दुधकोसी पारि खोटाङको डिकुवा, च्यास्मिटार र बाहुनीडाँडा ठाउँको शिरको अग्लो चुचुरो हो ।

सबैभन्दा ठूला देवता भने लिब्जुलाई नै मान्ने चलन छ । लिब्जुमा दर्शन गर्दा घरमा शान्ति मिल्ने, स्वस्थ हुने र इच्छाएका सबै कुरा पुरा हुने जनविश्वास छ । मन्दिरमा कुखुरा, मालेगोरु लगायत वैशाख पूर्णीमाको अवसर पारेर छाड्ने गरिन्छ । ‘परापूर्वकालमा लिब्जु पुजा माले गोरु काटेर गर्ने चलन थियो । तर, नेपाल एकीकरण र मुलुकलाई हिन्दुराष्ट्र घोषणापछि गाई, गोरु काट्न बन्देज लगाइयो । त्यसयता वाम्बुले राईहरुले माले गोरुलाई लिब्जुका नाममा छोड्ने र राँगा काटेर पूजा गर्ने चलन छ । मुन्धुम फलाक्ने बेलामा ‘माले गोरुले पूजा ग¥यौं है’ भनेर पुकार्ने गर्दछन् ।’ वाम्बुले राईहरुको महान चाड ढ्वाङ्कुम पुर्नेमा बर्खामा पाकेका मकै, अन्नबालीको जाँड, जिर्मा, विभिन्न परिकार आदि बनाई मूलदेवता लिब्जु र भुम्जुलाई चढाउने प्रचलन रहेको उँबुकी स्थानीय सांग्रीला राईले भनिन् । उनका अनुसार वाम्बुले राईहरूले पाकेका मकै, जाँड, जिर्मा आदि बनाई मूलदेवता लिब्जु र भुम्जुलाई पहिला चढाएर खाने चलन छ ।

पानी नपरे लिब्जु पुकार्ने किंबदन्ती

स्थानीयले गाउँमा कुनै समस्या परे वा खडेरी लागे लिब्जुलाई पुकार्छन् । ‘केही समस्या आयो पर्ने लिब्जु उपो रिएरछन् भनेर सम्झन्छौं । लिब्जु प्रति हाम्रो विश्वास पनि छ ।’ वाक्साका लक्ष्मण राउतले भने,‘वाम्बुले राई जातीहरुले विशेष मान्ने गरेको लिब्जु उपो अहिले सबैले आफ्नो ठान्छन् । पानी परेन भने आकाश हेर्दै लिब्जु पुकार्ने अनौठो चलन पनि छ ।’ अन्य त्यस आसपासका क्षेत्री, तामाङ, मगर र दलित सहितका समुदायले पनि लिब्जुलाई मान्न थालेका छन् ।

किंवदन्ती अनुसार कुनै समय स्थानीय राईहरुले जंगलमा सिकारखेल्न जाँदा ढुक्न ठूलो रुख चुने । त्यसमा चढ्न पहिले अखटा काट्दा सुरु गर्दा त्यो रुखको भित्रबाट एक प्रकारको आवाज आयो–‘ए मेरो घुँडा काट्छौ है’ भनेर । त्यो कुरा वास्ता नगरी फेरि अर्को अखेटा काट्न सुरु गरे । फेरि आवाज आयो, ‘ए मेरो मुटु काट्छौ है’ भनेर । त्यसलाई पनि वास्तै नगरी तेस्रो अखेटा काट्न सुरु गरे । फेरी पनि ठूलो स्वरमा सुनियो ‘ए मेरो घाँटी काट्छौ है’ भनेर । यस्तो पटक–पटकका आवाजले रुख काट्नेहरु छक्क परे । त्यसपछि पहिलो पटक काटेको अखटामा गहिरो गरी काटे । रुखभित्र धोद्रो भेटियो । धोद्रोमा मान्छे उभिएको खुट्टा देखियो । पूरै रुख काटेर निकाल्दा एउटा बालक भेटियो । त्यो बालकलाई गाउँमा ल्याएर पालियो । एकदिन त्यहाँ अपरिचित बूढो मान्छे घुम्दै आए । उनले जंगलमा भेटिएका ति बालकलाई लिएर गए ।

त्यो बालकले गाउँ छाडेको दिनदेखि १२ वर्षसम्म गाउँमा पानी परेन । गाउँलेहरु जिउने विभिन्न उपायको खोजीमा लागे । स्थानीयले अन्ततः के त्यो बालक भगवान त होइन ? अरुलाई दिएर पठायौं भनेर आत्मालोचना गर्दै लिन जाने निधो गरे । उनीहरुले त्यो बालक लैजाने बृद्धकहाँ पुगेर गाउँको सबै अप्रिय घटनाबारे बताए । त्यसपछि सात थुम्से खाक्सी छिपेको दाना लगेर बुझाएर बालकलाई लिएर गाउँ फर्के । जब त्यो बालक गाउँमा आए त्यसपछि पानी परेर हरियो–परियोले ढकमक्क छाएको थियो । त्यसपछि त्यस व्यक्तिलाई ‘लिब्जु’ भनेर नामाकरण गरियो ।

लिब्जु भन्नाले यस क्षेत्रको राईहरुको भाषामा युग फर्काउनु हो । किनभने १२ वर्षसम्म सुख्खा लागेको र जब लिब्जुले गाउँ टेक्यो सम्पूर्ण युग फर्केको थियो । लिब्जु राई लिब्जु उपो (बाजे) पनि भनिन्छ ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ८ : ४२ बजे