
चिनियाँ स्वामित्वमा रहेको भिडिओ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशविरूद्ध अदालतमा मुद्दा हाल्ने भएको छ।
६ अगस्टमा एक कार्यकारी आदेश जारी गर्दै ट्रम्पले टिकटकसँग कारोबार बन्द गर्न आफ्ना कम्पनीहरूलाई ४५ दिनको समयसीमा दिएका थिए।
पछिल्लो समय चीन र अमेरिकाबीच विवाद चुलिँदै गएको छ। टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटाहरू बेइजिङलाई उपलब्ध गराएर राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै राष्ट्रपति ट्रम्पले टिकटक अमेरिकी कम्पनीलाई बेच्न दबाब दिइरहेका छन्। सोही प्रक्रिया छिटो सक्ने उनले ४५ दिने अल्टिमेटम दिएका हुन्।
टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटडान्सले भने आफूले कुनै पनि अमेरिकी प्रयोगकर्ताको विवरण बेइजिङलाई उपलब्ध नगराएको दाबी गरेको छ।
एक विज्ञप्ति जारी गर्दै टिकटकले भनेको छ- ट्रम्प प्रशासनको आरोपसँग असहमत हुँदाहुँदै पनि एक वर्षदेखि हामी राम्रो भावना राखेर यो समस्याको ठोस समाधानका लागि सक्रिय छौं। तर ट्रम्प प्रशासनले यो कुरालाई ध्यान नै नदिई निजी व्यवसायको सम्झौता प्रक्रियामा आफूलाई घुसाएको छ।
आफ्नो कम्पनी र प्रयोगकर्ताहरूलाई निष्पक्ष व्यवहार गरिएको छ भन्ने ग्यारेन्टीका लागि अदालतमा जानुबाहेक अर्को विकल्प नरहेको टिकटकले जनाएको छ।
बाइटडान्सका अनुसार ट्रम्प प्रशासनविरूद्ध सोमबार मुद्दा हाल्ने तयारी छ।
पछिल्लो समय टिकटक अमेरिकामा लोकप्रिय भइरहेको छ। अमेरिकामा अहिलेसम्म उक्त एप १७ करोड ५० लाख पटक डाउनलोड भएको छ। संसारभरि टिकटक डाउनलोड गर्नेको संख्या झन्डै १ अर्ब पुगेको छ।
ट्रम्प प्रशासनले प्रतिबन्ध लगाउने घोषणा गरेपछि अमेरिकी कम्पनी माइक्रोसफ्ट र ओराकलले टिकटक किन्न खोजिरहेका छन्।
ओराकलका प्रमुख ल्यारी एलिसनले ट्रम्पको चुनावी अभियानमा करोडौं डलर उठाएका थिए। ओराकलले अमेरिकासँगै क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा टिकटकको स्वामित्व किन्न खोज्दै छ। -एजेन्सी