२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीलाई सहयोग र प्रोत्साहन गरौंः मानव अधिकार आयोग



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारीविरुद्ध अग्रपक्तिमा लडिरहेका स्वास्थ्यकर्मीलाई सहयोग र प्रोत्साहन गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न अपिल गरेको हो ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्न आयोगको आग्रह छ । ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको छ । सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको छ ।

जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो’, विज्ञप्तिमा भनिएको छ । अतः कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको लागि कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि नै भएको स्मरण गराउँदै आयोगले दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत गराएको छ ।

आयोगले स्वास्थ्यकर्मीप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार ००:००  ८ : ३५ बजे