अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।
पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाहरूको रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूको रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ ।
आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ ।












