२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिभावकलाई बन्दका बेलाको पनि शुल्क तिर्न निजी विद्यालयको आग्रह



काठमाडौं । सरकारको निर्णय विपरीत निजी विद्यालय सञ्चालकहरुले ‘लकडाउन’ अवधिको पनि शुल्क बुझाउन अभिभावकलाई अनुरोध गरेको छ । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन–प्याब्सन) लेसंयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई उर्दी जारी गरेका हुन् ।

निजी विद्यालयहरुले कोरोना भाइरसको संक्रमण फैलने त्रासमा चैत्र महिनादेखि नै बन्द गरेका छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई भनेको छ भने त्यसपछि पनि अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने प्रष्ट निर्देशन दिइसकेको छ । तर कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको तर्क गर्दै विद्यालय सञ्चालकहरुले शुल्क तिर्न अभिभावकहरूलाई ताकेता गरेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवनयापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेको उनीहरुले जनाएका छन् ।

सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउन नछाडिने पनि उनीहरुले उल्लेख गरेका छन् । विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्ना गर्न भन्दै प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षाको शुल्क उठाउने जनाएका हुन् । खासै प्रभावकारी नभएको अनलाइन कक्षा वैशाखदेखि नै सञ्चालन गरिएको उनीहरुको भनाई छ ।

लकडाउनका कारण चर्को समस्यामा परेका अभिभावकलाई तत्काल शुल्क तिर्न उर्दी आएपछि समस्यामा परेका छन् । नपढेको महिनाको शुल्क बुझाउन ताकेता गरेपछि अब कसरी तिर्ने भन्ने चिन्ता बढेको अभिभावकको भनाई छ ।

प्रकाशित मिति : २०७७, ७ असार आइतबार ००:००  १२ : ४८ बजे