२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक



काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरमा अहिलेसम्म ९७ लाख ७६ हजार ९६३ जना संक्रमित भेटिएको हो । यस्तै कोरोनाबारे ताजा तथ्याङ्क दिइरहेको वर्ल्डोमिटरले ९९ लाख चार हजार ९६३ जना संक्रमित पहिचान भएको जनाएको छ ।

अहिलेसम्म विश्वभर चार लाख ९३ हजार ६०९ जना संक्रमितको मृत्यु भएको छ । पहिचान भएका करिब ५३ लाख संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । जापानमा शुक्रबार थप १०० जना संक्रमित भेटिएका छन् । मे ९ तारिखपछि जापानमा हिजो सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । अमेरिकामा हिजो एकैदिन ४० हजार ८७० जनामा संक्रमित थपिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमित संख्या २४ लाख ६७ हजार ६५८ जना पुगेको छ। संक्रमितमध्ये एक लाख २५ हजार ४६ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा शुक्रबार अमेरिकामा भन्दा पनि धेरै संक्रमित पहिचान गरिएको छ । त्यहाँ एकैदिन अहिलेसम्मकै धेरै अर्थात ४६ हजार ८६० जना संक्रमित थपिएका हुन् ।

ब्राजिलमा हिजो एकैदिन ९९० जना संक्रमितको ज्यान गएको छ। अहिलेसम्म १२ लाख ७४ हजार ९७४ संक्रमित भेटिएका छन् भने ५५ हजार ९६१ जनाको ज्यान गएको छ ।

अस्ट्रेलियाको मेलवर्नमा धमाधम कोरोना संक्रमित भेटिएपछि चिन्ता गहिरिएको बीबीसीले उल्लेख गरेको छ । यहाँ कुन स्रोतबाट संक्रमण फैलिरहेको छ भन्ने थाहा लाग्न सकेको छैन ।

कोरोनाबाट अतिप्रभावित मुलुकमध्ये पाँचौं स्थानमा रहेको बेलायतले आउँदो जुलाई ६ तारिखदेखि विदेशी यात्रु आवागमनमा लगाएको प्रतिबन्ध हटाउने फैसला गरेको छ । कम संक्रमित भेटिएका युरोपेली मुलुकका यात्रुहरु अब बेलायत जान पाउने भएका छन् । ती देशबाट आउने यात्रुहरुलाई क्वारेन्टाइनमा समेत नराखिने भएको छ ।

ल्याटिन अमेरिकी देशका ग्रामिण इलाकासम्म कोरोना भाइरस फैलिएको समाचार सार्वजनिक भएका छन् । अर्जेन्टिनी सरकारले व्युनस आयर्सनजिकका क्षेत्रमा लगाइएको लकडाउन थप कडा पारिदिएको छ ।

भारतमा अहिलेसम्म चार लाख ९० हजार ४०१ जना संक्रमित भेटिएका छन् । ज्यान गुमाउने संक्रमितको संख्या १५ हजार ३०१ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार ००:००  ३ : २७ बजे