२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेरोजगार युवाको पीडा र वैदेशिक रोजगारीप्रतिको मोह



नेपाल अहिले बेरोजगार युवाको देश जस्तो बनेको छ । विश्वविद्यालय वा कलेजबाट अध्ययन पूरा गरेका हजारौं युवाले आफ्नो क्षमताअनुसार रोजगारी पाउने अवस्था छैन । सीप भएका युवाले पनि देशभित्र सम्मानजनक काम पाउने वातावरण पाएका छैनन् । पढे–लेखेका वा सीपयुक्त युवाहरूलाई पनि अन्ततः विदेशिनै परेको छ । यसै कारण, आज नेपालका अधिकांश गाउँघर युवाविहीन बन्न थालेका छन् ।

नेपालमा वार्षिक लाखौं युवाहरू श्रमका लागि वैदेशिक रोजगारीमा जान्छन् । कतिपय उच्च शिक्षा लिएर ‘ब्रेन ड्रेन’ भइरहेका छन् भने धेरैजसो युवाहरू खाडी मुलुक, मलेसिया वा अन्य देशमा श्रम गर्न पुगेका छन् । नेपालका गल्ली–गल्लीमा भेटिने युवाको सपना अब विदेशमा मात्र देखिन्छ ।

वैदेशिक रोजगारीमा पुगेका युवाको वास्तविकता

नेपाल छाडेर रोजगारीको खोजीमा विदेशिएका युवाको जीवन सजिलो छैन । उनीहरूले ठूलो ऋण बोकेर, घर–जग्गा धितो राखेर वा महँगो दलाल मार्फत विदेश पुग्छन् । सुरुमा धेरै सपना बोकेर विदेश पुग्ने युवाहरू वास्तविक जीवनमा ठुलो पीडा र संघर्ष भोगिरहेका हुन्छन् ।कडा गर्मीमा १२–१४ घण्टा श्रम गर्नु पर्ने बाध्यता,न्यून तलब र धेरै श्रमको अन्यायपूर्ण अवस्था,कम्पनी वा मालिकबाट हुने दुर्व्यवहार,स्वास्थ्य समस्या हुँदा उपचार नपाउने अवस्था,मृत्यु भएमा परिवारले भेट्नै नसक्ने पीडा आदि रहेका छन् .

यस्ता यथार्थहरू दिनहुँ समाचारमा आइरहेका छन् । कतिपय युवाहरू अप्ठ्यारो सहन नसकेर आत्महत्या गर्न बाध्य भएका छन् भने धेरै दुर्घटनामा अकालमै ज्यान गुमाएका छन् । तर सरकारको तर्फबाट गम्भीर चासो र समाधान देखिँदैन

राजनीति र बेरोजगारी

नेपालको राजनीतिक अस्थिरताले रोजगारीको वातावरण सिर्जना हुन सकेको छैन । नेताहरू चुनाव जित्ने बेला युवालाई रोजगार दिने ठूलो वाचा गर्छन्, तर चुनाव सकिएपछि ती वाचा कागजमै सीमित हुन्छन् ।

राजनीतिमा युवाको भविष्य, सीप र रोजगारीलाई प्राथमिकतामा नराख्दा हजारौं युवा बाध्यतावश विदेशिनु परिरहेको छ । राजनीति विवाद, सरकार परिवर्तन, नीतिगत अस्थिरता र भ्रस्टाचारकै कारण देशमा लगानी बढ्न सकेको छैन । जबसम्म सरकार गम्भीर भएर रोजगारी सिर्जना गर्ने ठोस योजना ल्याउँदैन, तबसम्म बेरोजगारी र वैदेशिक रोजगारीको बाध्यता बढिरहन्छ ।

सरकारले देखाएको उदासीनता

विदेशिएका युवाबाट पठाइने रेमिट्यान्सले आज नेपालको अर्थतन्त्र धानिएको छ । तर विडम्बना के छ भने, जसको श्रम र पसिनाले देशको अर्थतन्त्र चलिरहेको छ, त्यही युवाप्रति सरकारले गम्भीरता देखाएको छैन ।विदेशमा मृत्यु भएका नेपाली युवाको लाश ल्याउन समेत परिवारलाई ठूलो संघर्ष गर्नुपर्छ ।घाइते वा रोगी युवाका लागि सरकारले पर्याप्त सहयोग र नीतिगत सुरक्षा दिन सकेको छैन ।नेपाल फर्किएका युवाका लागि पुनःरोजगारी वा सीप उपयोग गर्ने योजना छैन ।युवाको सीपलाई सम्मान गर्ने वातावरण छैन, बरु उनीहरू निराश भएर पुनः विदेश फर्किन बाध्य छन् ।

नेपालका युवाहरू देशको मेरुदण्ड हुन् । तर आज उनीहरू वैदेशिक रोजगारीको पीडामा बाँधिन बाध्य भएका छन् । आफ्नै देशमा काम गर्ने, उत्पादन गर्ने र भविष्य बनाउन सक्ने अवसर नपाउँदा उनीहरूले आफ्नै जीवन संकटमा पारिरहेका छन् ।यदि नेपालका राजनीतिज्ञ र सरकारले साँच्चिकै युवालाई रोजगारी दिने, सीपलाई उपयोग गर्ने र उत्पादनमुखी अर्थतन्त्र बनाउने ठोस योजना ल्याउन सके भने मात्र यो प्रवृत्ति रोक्न सकिन्छ । अन्यथा, नेपालका गाउँ–घर अझै खाली हुँदै जानेछन् र नेपाल श्रमिक आपूर्तिकर्ता मुलुक मात्र बन्नेछ ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार ००:००  ४ : ३८ बजे