२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोली दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ । यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार ००:००  ३ : २२ बजे