प्रविधिको सुलभताले संसारभरका घटना र गतिविधिहरूमा सबैको पहुँच सहज भएको छ। विश्वघटनासँग संसारभरका मानिसहरू छिनभरमै अपडेट हुन्छन्।
यो सुविधासँगै सबैमा एउटा प्रवृत्ति पनि बढेको देखिन्छ– कहीँकतै कुनै घटना भए आफ्नो देशको कुनै घटना वा मिल्दाजुल्दा पात्रहरूसँग दाँज्ने।
हालै समसामयिक विश्वराजनीतिका शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति जो बाइडेनको डेलावरस्थित घरमा राष्ट्रपति मातहतकै अमेरिकी न्याय मन्त्रालयको टोलीले प्रहरीसहित छापा मारेको खबर फैलियो।
यो खबरसँगै देशविदेशका नेपालीवृत्तमा गाइँगुइँ सुरू भयो– के नेपालका न्यायिक निकाय वा प्रहरीको सिआइबीले बहालवाला राष्ट्रपतिको घरमा छापा हान्न सक्छन्?
बेलायतबाट अर्को समाचार फैलियो– बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ट्राफिक नियम पालना नगरेकामा बेलायती प्रहरीले जरिवाना गरायो।
प्रधानमन्त्री सुनक कतै जाँदै थिए। गाडीमा बसेको समयको सदुपयोग गर्दै सामाजिक सञ्जालम जनताको नाममा कुनै भिडिओ सन्देश पठाउँदै गर्दा सिट बेल्ट नलगाएका देखिए।
लन्डनका ४२ वर्षीय व्यक्तिलाई चलिरहेको कारमा सिट बेल्ट नलगाई बसेको भिडिओ सार्वजनिक भएपछि ट्राफिक नियमअनुसार जरिवाना तिराइयो भनेर ल्यांकशर प्रहरीले विज्ञप्ति पनि निकाल्यो। प्रहरीले ती व्यक्ति को थिए भनेर खुलाएको थिएन। बेलायती प्रधानमन्त्रीको कार्यालयले नै प्रधानमन्त्री सुनकलाई प्रहरीले जरिवाना तिराएको भनेर विज्ञप्ति निकाल्यो।
नेपालमा प्रश्न गर्न सुरू भइहाल्यो– के नेपालको ट्राफिक प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ट्राफिक नियम पालना नगरेकोमा जरिवाना तिराउने हैसियत राख्छ?
देश–परदेशमा रहेका नेपालीहरूले आफ्नो देशलाई एकदमै माया गर्छन्। त्यसैले देशी–परदेशी कुनै घटनालाई आफ्नो देशसँग दाँजेर हेर्छन्। अझ कुनै विकसित देशमा रहे-बसेका नेपालीहरूले त त्यहाँको स्थापित प्रणालीसँग दाँजेर हाम्रो देशमा पनि यस्तै भइदिए हुन्थ्यो भन्ने ठान्छन्।
फेरि अर्को समाचार आएको छ– संसारमै कम उमेरकी प्रधानमन्त्रीका रूपमा चर्चित न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिका आर्डनले राजीनामा दिइन्।
आर्डन ४२ वर्षकी मात्रै छिन्। करिब साढे पाँच वर्षअघि ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएकी उनी दोस्रो कार्यकाल पूरा गर्ने क्रममा थिइन्। आगामी अक्टोबरमा हुने निर्वाचनमा लोकप्रिय प्रधानमन्त्रीका रूपमा फेरि पनि चुनिने अनुमान गरिँदै थियो।
उनको राजीनामाको खबरले नेपालमा भर्खरै निर्वाचन सम्पन्न भएर छिनछिनमा फेरिँदै गठबन्धन र महागठबन्धनका सरकार बनाउने खेलाडीहरूको रोचक खेलको साक्षी बनेका नेपालीहरू रोमाञ्चित देखिन्छन्।
जीवन रहेसम्म सत्ताको राजनीतिक जीवन नसकिने नेताहरूको जीवनी देखेका हामी नेपालीलाई न्यूजिल्यान्डकी ४२ वर्षीया लोकप्रिय प्रधानमन्त्रीले परिवारलाई समय दिने भन्दै पदबाट राजीनामा दिएको कुरामा विश्वास गर्न गाह्रो भयो।
उनको कार्यकाल १० महिना बाँकी नै थियो। उनले राजीनामा पत्रमा लेखेको सन्देश झन् गज्जबको र महत्वपूर्ण छ।
उनले लेखेकी छन्– मैले आशा गरेकी थिएँ कि मैले आफ्नो बाँकी कार्यकाल पूरा गर्ने कुनै कारण पाउने छु तर दुःखको कुरा यस्तो हुन सकेन। यदि अहिले पनि म प्रधानमन्त्री पदमा बसिरहेँ भने यसले न्यूजिल्यान्डको हित गर्ने छैन।
यस्तो सन्देशसहितको उनको निर्णयले धेरै राजनीतिक खेलाडीका मथिंगल घुमाइदिएको छ– यस्तो पनि हुनसक्छ र?
नेपालमा पटकपटक सत्ताको बागडोर सम्हालेका र अझै सम्हाल्छु भनेर बसेका सबैजसो नेताहरू ७० वर्षको उमेर कटेका छन्। राजनीतिमा उमेरको कुरामा फरकफरक तर्क गर्न सकिएला तर सबैभन्दा महत्वपूर्ण कुरा राजनीतिक नेतृत्व सम्हालेका व्यक्तिहरूले दिनसक्ने योगदानको हो।
नेतृत्वको एउटा भिजन हुन्छ जसको कुनै एउटा निश्चित समय तालिका हुन्छ। नेताले देशलाई गर्नसक्ने योगदान पनि निश्चित हुन्छ। यसअनुसार योगदान गरेपछि बाहिरिनु बुद्धिमता हुन्छ।
न्यूजिल्यान्डकी प्रधानमन्त्रीले आफूभित्र यही तथ्य खोजेकी छन्। उनले देशलाई अझै राम्रो सेवा दिन बाँकी काम र क्षमता आफूमा देखिनन्। उनले आफू प्रधानमन्त्री पदमा रहिरहँदा देशको हित हुने नदेखेको भन्नुको मतलब अब आफूले दिनसक्ने नयाँ कुरा केही छैन भनेर अर्कोलाई अवसर दिनु हो। अर्को प्रधानमन्त्रीले आफूले भन्दा नयाँ काम गर्न सक्छ भन्ने हो।
यता हाम्रा पटके प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूले देशलाई दिनसक्ने के बाँकी होला जो उनीहरूले तीन दशकदेखि देशको नेतृत्व गर्दा पनि दिन पाएनन्?
अर्को प्रश्न पनि उठ्छ– यी पटके नेताभित्र के बाँकी छ जो भावी नेतृत्वमा छैन?
प्रश्न अझै छ– ऊर्जावान् मानिएका युवाहरू किन तिनै पटकेहरूलाई अघि सार्छन्?
तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डको नेकपा (माओवादी केन्द्र) होओस् कि फेरि तेस्रो पटकको पालो पर्खिँदै गरेका केपी शर्मा ओलीको नेकपा (एमाले) होओस्, ऊर्जावान् युवा नेताहरूले आफूलाई अघि सार्न सकेका छैनन्।
सत्ताइस वर्षअघिदेखि हालसम्ममा पाँच पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अझै आफूलाई निर्विकल्प देख्छन् जो उमेले ८० टेक्न लाग्दै छन्।
ऊर्जावान् मानिएका कांग्रेसी नेताहरूले आफूलाई नेतृत्वमा उभ्याउनै सकेका छैनन्।
देउवाको विकल्पमा उभिने हिम्मत गरेका गगन थापालाई रोक्न पालोका नाममा अभियान नै चल्यो। पटके वृद्ध नेताहरूले आफ्नो विकल्प विकास हुने अवसर नै दिएनन्। यसमा असेपासेहरूले सघाए। परिणामस्वरूप दोस्रो–तेस्रो पुस्ताका ऊर्जावान् नेताहरू ट्राफिक जाममा परेका छन्। सबैजसो पार्टी यस्तै अवस्थामा छन्।
चाखलाग्दो कुरा के छ भने दोस्रो पुस्ता पनि बाधक बन्न थालेको देखिन्छ। यही प्रवृत्तिले नेतृत्व विकास अवरूद्ध भएको छ र एउटैले आफूलाई निर्विकल्प साबित गर्न पाएको छ।
नेतृत्वमा ट्राफिक जामको लहरो केन्द्रदेखि स्थानीयस्तरसम्मै जेलिएको छ। केही नयाँ सम्भावना यो जाममै मुर्झाएर सकियो। केहीले बेलाबखत विद्रोह गरेको पनि देखिन्छ। हालैको चुनावमा पार्टीको केन्द्रीय तहका सदस्यले पनि विद्रोह गरेको देखियो। मूल बाटो थुनिएर बनेको तालमा कुहिने कि बाँध तोडेर अघि बढ्ने, रोजाइ आआफ्नै हो।
ओखलढुंगामा नेपाली कांग्रेसका एक हस्ती थिए गोपाल राई। उनी गिरिजाप्रसाद कोइरालासँग नजिक थिए। २०४८ सालमा ओखलढुंगाबाट टिकट नपाएर उनी अर्को जिल्लामा जानु परेको थियो।
२०५१ सालको चुनावमा पनि टिकट नपाएपछि काका बलबहादुर राईविरूद्ध विद्रोही उम्मेदवार बने। २०५६ सालमा पनि उनले टिकट पाएनन्। सायद गोपालको यस्तो अवस्था बलबहादुर आफैंलाई पनि राम्रो लागेन। उनले आफूले पाएको टिकट गोपाललाई दिएर बाँध खोल्न मद्दत गरे।
बलबहादुर अपवाद भए।
हरेक पार्टीमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको विधि र व्यवस्थापनमा गडबडी छ।
नेपाली कांग्रेसले एक व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल सभापति हुन नपाउने व्यवस्था गरेको छ तर प्रधानमन्त्रीबारे मौन छ। नेकपा (एमाले) ले ७० वर्ष नाघेपछि नेतृत्वको पदमा रहन नपाउने प्रावधान राखेको छ तर वर्तमान नेतृत्व नरोकिने गरी। हाल सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) त यी सबै पक्षमा मौन छ। अहिलेको मूल नेतृत्वले चाहेसम्म अरू सबै साक्षी मात्र हुने अवस्था छ।
कुनै पनि पार्टीमा नयाँ नेतृत्व विकास गर्न नेताहरूमा भिजन र योजना देखिएको छैन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति कति पटक सांसद, मन्त्री, प्रधानमन्त्री हुने पाउने भन्नेबारे आफ्नो भिजन स्पस्ट रूपमा ल्याएका थिए।
संसदीय दलमा मूल नेतृत्वलाई चुनौती दिएका महामन्त्री गगन थापाले आफूले सक्रिय राजनीतिबाट अवकाश लिने उमेर हद तोकेका छन्। नेतृत्व विकास र हस्तान्तरणबारे पार्टीहरूका स्पस्ट व्यवस्था नहुने हो भने सबै तहमा क्षमतावान नेताहरू राजनीतिबाट पलायन हुने छन् वा सम्झौतामा सकिने छन्। पार्टीहरू अक्षम बन्दै जाने छन्।
बेलायतमा १८ वर्षअघि टोनी ब्लेयरको सरकारमा मन्त्री रहेका एसेल मोरिसले सक्रिय राजनीतिमा आफ्नो सम्भावनाकै बीच अवकाश लिँदै भनेका थिए– एक समय आउँछ जहाँ तपाईंले चाहे जति शक्ति प्रयोग गर्न सक्नु हुन्न, त्यसैले आफू कहिले हट्ने भनेर थाहा पाउनु तपाईंको एक क्षमता हो।
के हाम्रा नेताहरूले यो पक्ष कहिल्यै सोचेका वा महसुस गरेका छन्?
दिवंगत भएका हाम्रा धेरै नेताहरूले जीवन रहेसम्म आफूलाई राजनीतिक नेतृत्वमा राखे। अहिलेका नेताहरूमा पनि उही प्रवृत्ति देखिएको छ। पटकपटक अवसर पाउँदा पनि खरो उत्रिन नसकेका नेताले बाटो खुला गर्नुको साटो मैदान ओगटिराख्नु विडम्बना हो।
सन् २०१० मा बेलायती संसदको चुनावमा लेबर पार्टीको हार भएपछि पार्टीका नेता तथा प्रधानमन्त्री गोर्डन ब्राउनले सक्रिय राजनीतिबाट बिदा लिए। यसपछि दुई युवा राजनीतिज्ञ दाजुभाइ ४३ वर्षीय डेभिड मिलिब्यान्ड र ४१ वर्षीय एड मिलिब्यान्ड नेतृत्वको मैदानमा आए।
लेबर पार्टीमा वरिष्ठ र अनुभवी नेताहरू पनि धेरै थिए तर उनीहरूले सम्भावना बोकेका नेताहरूलाई अगाडि आउन बाटो खाली गरिदिए। मिलिब्यान्ड नेतृत्वमा चुनिए तर सन् २०१५ को चुनावमा पार्टी पराजित भएपछि उनले राजीनामा गरे। यसपछि वरिष्ठ नेता जेरेमी नेतृत्वमा आए। उनको नेतृत्वमा पनि पार्टी विजयी भएन। उनले राजीनामा गरे।
अहिले केइर स्टार्मर नेतृत्वमा छन्।
बेलायतमा एकपटक पार्टी नेतृत्वमा पुगेर हटेकाहरू दोहोर्याएर आउने प्रयास गर्दैनन्। एकपटक प्रधानमन्त्री भएपछि फेरि दोहोरिने प्रयास पनि गर्दैनन्। यसो हुँदा मात्रै नयाँ नेतृत्वले नयाँ भिजनका साथ काम गर्ने र क्षमता देखाउने अवसर पाउँछन्।
प्रश्न उठ्छ– हाम्रा नेताहरू यस्तो अभ्यास गर्न किन सान्दर्भिक ठान्दैनन्?
अढाई दशकअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गरेको प्रहसन ‘शालिक’ मा कृष्णप्रसाद भट्टराईको भूमिकाबाट हरिवंश आचार्यले भनेका थिए– अरूले किन प्रयास गर्ने? प्रधानमन्त्री गिरिजाबाबु हुनुहुन्छ, उहाँ हटेपछि म हुन्छु, म हटेपछि फेरि गिरिजाबाबु हुनुहुन्छ अनि उहाँ हटेपछि फेरि म।
नेपालमा यसै भइरहेको छ।
आधुनिक सिंगापुरका निर्माता ली क्वान यूले भनेका थिए– नेता हुनु भनेको अरूलाई प्रेरित गर्नु हो, निराशा बाँड्नु होइन। निराशा बाँड्ने नेताले देशलाई डुबाउँछ।
हाम्रा नेताहरूले कहिले सिक्ने? कहिले गर्ने?
(श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी अधिकृत हुन्। उनी हाल ब्रिटिस प्रहरीको ह्याम्प्सायर पुलि कन्स्टेबुलरीका सल्लाहकार छन्।)
-सेताेपाटी