२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के युवतीहरुमा मन नपराउने अधिकार छैन ?



सिर्जना बर्देवा काठमाडाै‌ं

सिर्जना बर्देवा

‘मन पराएँ माया लाएँ, मैले के बिराएँ’ ….. अञ्जु पन्तको स्वरमा रहेको यो गीतले भन्छ मन पराउनेले मायाँ लाउँछन् । सायद हुन्छ पनि त्यहि । फेरि हाम्रो समाज मन पराउनु वा माया गर्नु अपराध ठान्छ ।

त्यसमा पनि पुरुषहरुको माया गराईप्रति जति समाज उदार छ, महिलाहरुको सवालमा उत्ति छैन । झन मन पराउनु माया गर्नु छोरीले नराम्रो भन्नेहरुकै समाजमा मन नपराउने वा माया नगर्ने छोरीहरु जिउँदै जलिरहन परिरहेको तितो यथार्थ छ ।

गत बिहीबार राजधानीको सीतापाइलामा ओखलढुङ्गाकी २२ वर्षीय पवित्रा कार्कीमाथि दुई युवाद्वारा एसिड प्रहार भएको घटनाले अहिले सामाजिक सञ्जालको भित्ताहरू रङ्गिएका छन् । विभिन्न रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, युट्युबमा वृहत चर्चा–परिचर्चा भइरहेको छ । एसिड आक्रमणको सिकार भएकी पवित्राको टाउको, हात, अनुहारको दायाँपट्टिको भाग, निधार र आँखामाथिको भाग एसिडले जलेको छ । किर्तिपुरस्थित बर्न सेन्टरको जनरल वार्डमा अहिले उनको उपचार भइरहेको छ ।

कहिले दाइजोको बहानामा त कहिले प्रेम प्रस्ताव स्विकार नगरेको कारण महिलामाथि यस्ता हिंसा भइरहेका छन् । हुन त, यो कुनै पहिलो घटना पनि होईन । देश एसिड आक्रमणका अनेकन घटनासँग अभ्यस्त छ । पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना दोहोरी रहेका छन् । अहिलेसम्म भएका एसिड आक्रमणका घटना विश्लेषण गर्दा एसिड आक्रमणको निशानामा विशेषगरी किशोरी, युवती तथा महिलाहरू पर्ने गरेका छन् । कहीँ कतै बालबालिकामा पनि एसिड आक्रमण भएको पाइएको छ । आक्रमणकै क्रममा कैयनको मृत्युसमेत भइसकेको छ भने, धेरै गम्भीर घाइते भएका घटनाहरू सजिलै खोतल्न सकिन्छ। यस्ता समाचारहरू पढ्दा र हेर्दा निक्कै पीडाबोध हुन्छ, बिहीबारको घटनाले पवित्रा जस्ता धेरै युवतीहरूको होसहवास फेरि एकपटक उडेको छ ।

बिहीबारको घटनामा पनि एकतर्फी प्रेमका कारण आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेकाले केटा पक्षले शरीरमा एसिड प्रहार गरेको प्रहरी अनुसन्धानले ठहर गरेको छ ।  पवित्रालाई प्रेम प्रस्ताव राखेको र स्वीकार नगरेपछि पहिला काम गरेको कारखानाको मालिकले योजनाबद्ध रुपमा उनिमाथि एसिड आक्रमण गरेको खुलेको छ । मालिक भनाउँदा मोहम्मद आलमले प्रेम प्रस्ताव नस्वीकार्दा एसिड हान्ने योजना बनाए र आक्रमण गरे ……. ।

पछिल्लो समयमा प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण यस्ता एसिड आक्रमणका जघन्य घटनाहरू निरन्तर तवरमा भईरहेका छन् । धेरै दिदीबहिनीहरू आफूले प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण एसिड आक्रमणको सिकार भएका छन् । पवित्रा मात्र हैन, मुस्कान खातुन, जोनी खड्का, बसन्ती परियार, सम्झना कुमारी दास, सुस्मिता कुमारी दास, कल्पना श्रेष्ठ जस्ता कयौँ दिदीबहिनीहरू एसिड आक्रमणको सिकार भएका छन् । एसिड आतङ्कले धेरै युवतीहरूको हाँसो र खुसी खोस्दै आइरहेको छ । किन बुझ्दैनन् कि, कुनैपनि व्यक्तिलाई एसिड प्रहार हुँदा अनुहार र शरीरमा मात्र चोट लाग्दैन । उसको आत्मसम्मान तथा आत्मविश्वासमा पनि चोट पुग्छ । जसको फलस्वरुप उसले पटक–पटक पीडा, तिरस्कार र हेला सहेर आजीवन बाँच्नुपर्ने हुन्छ । के उनीहरुको जीवनको महत्व छैन ? के उनीहरुलाई आफ्नो चाहाना अनुसार प्रेम गर्ने अधिकार छैन? हरपल हर समय डरमा बाच्नु परेपछि कसरी हुन्छन् महिला स्वतन्त्र, विवाह, प्रेम, यौन प्रस्ताव अस्वीकार, दाइजो, सामान्य झगडा लगायतमा प्रतिशोध साध्न महिलाको अनुहार नै बिगार्ने उद्देश्यले एसिड आक्रमण हुन्छ भने, कहाँ छ महिलाहरुको स्वतन्त्रता पूर्वक बाँच्न पाउने हक र अधिकार ? क्रुरता कहिले सम्म सहनु पर्ने नेपाली महिलाहरुले ?

नेपालमा एसिड आक्रमण निरुत्साहित गर्न कानुन बनाइएको छ । नयाँ मुलुकी संहितामा एसिड प्रहारलाई गम्भिर अपराधको रुपमा लिइएको छ । अनुहार कुरुप पारे ५ बर्ष देखि ८ बर्ष कैदको सजाय हुने उल्लेख छ । १ देखि ५ लाखसम्म जरीवाना समेत व्यवस्था गरिएको छ । त्यस्तै शरीरको अन्य भाग कुरुप बनाए वा शरीरमा पीडा गराएमा ३ देखि ५ बर्षसम्म कैद र ५० हजार देखि ३ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

तर, विडम्बना पटकपटक एसिड आक्रमणका कारण किशोरीहरूले ज्यान गुमाएको, शारीरिक रूपमा अंगभंग भएकोजस्ता घटना बारम्बार सार्वजनिक हुँदापनि सरकारले एसिडको बिक्रीवितरणको नियमनमा ध्यान पु¥याउन सकेकोे छैन । बजारमा पानी किनेजस्तो सहज तरिकाले एसिड पाउनु भनेको अपराधका निम्ति चरहरू खुला राख्नु हो । सरकार यसमा सचेत हुन जरुरी छ। युवतीहरुलाई सरकारले आत्मरक्षाको तालिम, जनचेतना र महिलाको सुरक्षार्थ सक्रिय भुमिका निर्वाह गर्न सक्नुपर्छ । मुलुकमा एसिड बिक्रीवितरणबारे नियमकानुन बनाउनुपर्छ। सरकारले सर्वसाधारणको एसिडमा सहज पहुँचलाई रोक्नुपर्छ । अब कारबाहीको दयारा ठुलो बनाउनै पर्छ। आक्रमणकारीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

फेरी पनि अरु पवित्राहरु एसिड आक्रमणको सिकार बन्न नपरोस् ।

पवित्राको शिघ्र स्वास्थ्य लाभको कामना ।

प्रकाशित मिति : २०७७, १० श्रावण शनिबार ००:००  १ : २१ बजे