२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठोरीका जनप्रतिनिधि : निजी सवारी, काम सरकारी

नेतामा होइन जनतामा परिवर्तन आउनुपर्छ : गाउँपालिका अध्यक्ष श्रेष्ठ



पर्साको ठोरी गाउँपालिकाका जनप्रतिनिधि निजी सवारी प्रयोग गरेर सरकारी सेवामा सकृय छन् । सरकारी सम्पत्तीको दोहन नगर्ने र सुविधाभोगी नबन्ने उद्घोष गरेका ठोरीका जनप्रतिनिधिले सरकारी सवारीको प्रयोग नगरेका हुन् ।

गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीसहितका सबै निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत सवारी नै प्रयोग गर्दै आएका छन् ।

पदमा रहँदा वा नरहँदा एउटै अवस्थामा दैनिकी चलाउने र जनसेवामा लाग्ने अठोटले सरकारी सवारी प्रयोग नगरी निजी सवारी चढेरै जनताको सेवामा जुटेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । पदमा रहँदा वा नरहँदा आफुले उस्तै जिवनशैली कायम राख्ने तर जनतामा परिवर्तन ल्याउने अध्यक्ष श्रेष्ठको भनाई छ । ‘म सँग चुनाव जित्नुअघि नै पनि आफ्नै गाडी थियो । पदमा पुग्ने वित्तिकै सुविधाभोग गरेर शासन गर्न सुरु गर्नुपर्छ भन्ने मलाई लाग्दैन । विगतमा जसरी चलेको थिएँ अहिले पदमा हुँदा पनि त्यसरी नै चलिरहेको छु । भोली कार्यकाल सकेर जनताका बीमा फर्कँदा पनि उहि अवस्थामा हुनेछु ।’ अध्यक्ष श्रेष्ठले अनलाईन सरोकारसँग भने,‘नेतामा होइन जनतामा परिवर्तन आउनुपर्छ । हामी ठोरीका जनप्रतिनिधि आफुले निजी सवारी प्रयोग गरेर सेवामा जुट्का छौं तर जनताका लागि एम्बुलेन्स किनेर गर्भवती, सुत्केरी र विपन्नलाई निशुल्क सेवा दिइरहेका छौं ।’ जनप्रतिनिधिलाई सवारी किन्नुको सट्टा सडक निर्माण र स्तरोन्नतीसहितका पूर्वाधार विकास गर्न मेसिनरी सामानहरु खरिद गरिने र विकासका काममा बजेट खर्चिने अध्यक्ष श्रेष्ठको तर्क छ ।

पालिका अध्यक्षले सरकारी सवारी प्रयोग नगरेपछि वडाअध्यक्षहरुले पनि निजी सवारी नै प्रयोग गर्ने गरिएको वडानम्बर ५ का वडाअध्यक्ष अष्टबहादुर लोप्चनले बताए । उपाध्यक्षले स्कुटर र वडाअध्यक्षहरुले आ–आफ्नै मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।

ठोरीका जनप्रतिनिधिले सरकारी सवारी प्रयोग नगरेपनि नियमानुसारको सेवा सुविधा भने पालिकाबाट लिने गरेका छन् ।

देशैभर स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै संघियता देशले धान्न नसक्ने टिप्पणी सुरु भएका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी नकिनेपनि भाडामा प्रयोग गरेर वार्षिक लाखौं रकम खर्च गरिरहेका छन् । मधेश प्रदेशमा झन बढी सरकारी सम्पत्तीको दोहन भएको मलेप र अख्तियारको तथ्याङ्कले देखाउँछ । मधेश प्रदेशकै ठोरी गाउँपालिकामा भने  जनप्रतिनिधिका लागि सरकारी सवारी छैन ।

प्रकाशित मिति : २०८०, २४ पुस मंगलबार ००:००  ९ : २५ बजे