२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुम्जाटारका किसान पर्मेली परम्परा संरक्षणमा जुटे



ओखलढुंगा । कोरोनाको कहर छल्न गाउँफर्किएका ओखलढुंगाको रुम्जाटारका किसान सयौं वर्ष पुरानो पर्मेली परम्परा संरक्षणमा जुटेका छन् । लामो समय पछि गाउँ फर्र्किका यहाँका किसान निकै प्राचीन संस्कृति मानिने पर्मेली गीत गाउँदै अर्म–पर्म लगाएर काम गर्ने यहाँको पुरानो संस्कृति जोगाउन लागेका हुन् ।

‘ठाडे, टोड्के देउराली

चिप्ले चौर पसल

अरुको माइती भन्दा

हाम्रै माइती असल’

यी हरफहरु ओखलढुंगाको रुम्जाटारमा हरेकवर्ष गुन्जने गीतका शब्दहरु हुन् । यतिबेला रुम्जाटारका किसान रोपाइँमा व्यस्त छन् । अन्य ठाँउको तुलनामा रुम्जाटारको रोपाइँ निकै फरक हुन्छ । सयौं वर्षदेखि चलेको पर्मेली परम्परा अझै कायमै छ ।

विगतका वर्षहरुमा खेताला नपाउने समस्या थियो । खेतबारीमा खेतीको काम गर्न खेताला नपाउँदा संस्कृति जोगाउन समस्या हुने गरेपनि यसवर्ष गाउँका धेरैजसो युवाहरु घरैमा रहेकाले पर्मेली परम्परा अनुसार खेतीपातीको काम गर्न सजिलो भएको स्थानीय किसान विष्णु गुरुङले बताए । आधुनिकता र कृषिमा पछिल्लो पुस्ताको आकर्षण कम हुँदा परम्परा नै लोप हुने अवस्थामा पुगेको पर्मेली परम्परा यसवर्ष भने पुरानो चलन अनुसार चलिरहेको उनको भनाई छ । ‘पहिले मादल,बासुरी बाच्छे बाजा अनिवार्य गरिन्थ्यो अहिलेका नानीहरु मोवाईलमा गीत बजाएर रमाईलो गर्न खोज्छन् ।’ गुरुङले भने, ‘यहाँको पर्मेली हेर्न बाहिरका मान्छेहरु पनि आउँथे । यो वर्ष कोरोनाले आएनन् । युवाहरु बारीमा काम गर्न रुचाउँदैनन् थिए तर लामो समय घरमा बस्दा अल्छि लाग्थ्यो खेतबारीमा रमाउन सबै चाहन्छन् । यो वर्ष निकै पुरानो तरिकाले खेती लगाईयो ।’ स्थानीयहरु बसाई सरेर अन्यन्त्र जानु, युवाहरु विदेशीनु र कृषि पेशा पछिल्लो पुस्ताको आकर्षणको पेशा नबन्नुको असर रुम्जाटारको पर्मेली परम्परामा परेपनि कोरोनाले गाउँ फर्काएपछि कृषि पेशा सँगै पर्मेली परम्परा संरक्षणको अवसर मिलेको उनको बुझाई छ ।

रूम्जाटारमा मध्ये असार देखि धान कोदो रोप्ने पर्म सुरू हुन्छ । यो क्रम करिब करिब भदौ महिनाभर चल्छ । गीत गाउन,मादल बजाउन र खेतीको काम गर्न आलोपालो गरिन्छ ।

रुम्जाटारका किसानहरु दुई देखि तीन समुहमा बाँडिएर काम गरिरहेका हुन्छन् । एउटा समुहमा १० देखि ६० जनासम्म रहन्छन् । एक दिन एक जनाको मेला सकेपछि अर्को दिन अर्काको मेलामा सहयोग गर्ने यो परम्परा सयौँ वर्ष पुरानो हो । अझै माइती र चेलीका रुपमा चेलीले कोसेली दिएपछि माइती पर्मका लागि पक्का हुने र पर्म सकिएपछि हुक्काई खाने चलन अझै छ ।

रूम्जाटारको विशेषताकै रुपमा लिइने पर्मेली मेलामा गाइने पर्मेली गीत विस्तारै लोप हुन थालेपनि पछिल्लो पुस्ता परम्परा जोगाउन लागिपरेको स्थानीय लिलामाया खतिवडाले बताईन्  । ‘उहिले उहिले त खुबै मेला लाग्थ्यो । गाना बजानाले गाउँ नै संगीतमय हुन्थ्यो । उनले भनिन् ।, ‘पोहोर परार त्यति हुन्थेन यो साल चाँही धेरैजसो गाउँघरमै रहेकाले पुरानो झल्को आयो ।’ परम्परा संरक्षणमा युवाहरु जुट्नुपर्ने उनको भनाई छ ।

स्थानीय किसान भेला हुन्छन् । एकदिन एउटाको र अर्को दिन फरक व्यक्तिको खेतबारीमा उनिहरु भेटिन्छन् । किसानहरुले समुह बनाउने र पालैपालो सबैको खेती लगाउने चलन करिब दुई महिना सम्म चल्छ । कोदो रोप्ने, गोड्ने, टिप्नेमात्रै नभएर धान रोप्दा पनि पर्म लगाउने चलन अझै कायम छ ।

नेपाल एकीकरणका बेला झागल गुरूङको नेतृत्वमा आएर गुरूङ सेनाका रुपमा आउँदा यहीँ बसोबास गरेको इतिहास छ । दुई सय वर्षअघिदेखि सुरू भएको यो चलन लोप हुने हो कि भन्ने रुम्जाटारका अगुवालाई चिन्ता छ । अर्म पर्म चलेपनि पर्मको मुख्य विशेषता पर्मेली गीत भने क्यासेटमा सुन्नुपर्ने अवस्था आउने चिन्ता लागेको स्थानीय कर्णबहादुर दर्जीको तर्क छ । ‘बुढाबुढीले परम्परा धानेका छन् । नानीहरु सिक्न पनि खोज्दैनन् केही केहीले मात्रै सिकेर अग्रजलाई सघाईरहेका छन् ।’ उनले भने,‘स्थानीय सरकारले यसलाई सम्पत्तिका रुपमा लिएर संरक्षण गरेर युवाहरुलाई पनि समेट्न आवश्यक छ । नभए पर्मेली गीत रेडियो र क्यासेटमा सुन्नुपर्ने अवस्था आउँछ ।’ विगतका वर्षहरुमा पर्म तिरेर भ्याई नभ्याई हुेन रुम्जाटारका किसानलाई यसवर्ष घरभरी मान्छे भएकाले त्यो चिन्ता छैन ।

रोपाईको समय सकिने बेला भएसँगै पर्मेली गीतको रौनकता छाउन थालेको छ । सुरुका दिनहरुमा मेलो सक्ने चिन्ता हुने यहाँका किसान अन्तिम समयमा बढि रमाईलो गर्छन् । यो वर्ष लकडाउनका कारण सबै घरमै रहेकाले खेतबारीको काम गर्न खेताला अभाव नहुनु र समयमै वर्षा हुनुले किसान उत्साहित छन् ।

पूर्वकै प्रसिद्ध संस्कृतिका रुपमा परिचित पर्मेली मेलाको मुख्य पहिचान जोगाउन सक्दो भूमिका खेल्ने सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङ बताईन् । पर्मेली परम्परा संकटमा पर्ने अवस्था आउन नदिन आफुहरुले पहल गरिरहेको उनको भनाई छ । ‘सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ । स्थानीय सरकारले त्यसको नेतृत्व लिन्छ ।’ पर्म लगाउँदै खेती गर्ने पर्मेली परम्परा संरक्षण र प्रचारप्रसार गर्न सक्नुपर्ने उपप्रमुख गुरुङको भनाई छ ।

रुम्जाटारको पर्मेली गीत खोजिखोजी कलाकारहरुले म्युजिक भिडियो बनाउन थालेका छन् ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  ८ : ०२ बजे