प्रदीप खतिवडा
अनलाइन सराेकार
लाग्थ्यो विश्व २१ औं शताब्दिसम्म आइपुग्दा विकास निर्माण तथा विज्ञान प्रविधीमा धेरै अगाडि पुगिसकेको छ । मलाई लागेको थियो विज्ञान तथा प्रविधीमा मजबुत बनिसकेका देशहरुले चाहे भने अाकाशमा फूल फुलाउन सक्लान् , बन्ध्याबाट पुत्र प्राप्त गर्न सक्लान्, खरायोमा सिङ उमार्न सक्लान् , भ्यागुतामा जिब्रो राखेर परीक्षण गर्न सक्लान् । तर आजको विश्व अझै पनि यो अवस्थामा पुग्न सकेको रहेनछ भन्ने प्रस्ट भइसकेको छ ।
जति विश्व विनाश तर्फ अग्रगतिमा अगाडि बढेको छ त्यो भन्दा धेरै कम जीवन रक्षामा रहेछ भन्ने छर्लङ्ग भएको छ । आज भन्दा धेरै वर्ष अगाडि नै हिरोसिमा र नागासाकिमा एटम बम प्रहार गरेर ध्वस्त पार्न सक्ने विज्ञान र प्रविधीले अाज COVID19 अर्थात् कोरोना भाइरससँग अझै पनि विजयको शङ्खघोष गर्न नसकिरहँदा विज्ञानले विकास भन्दा विनाश तर्फनै फड्को मारेको पुष्टि हुन आउँछ ।
आजको विश्वले यो कोरोना भाइरसबाट धेरै कुराहरु सिक्नु पर्छ । हाम्रो पूर्वीय दर्शनले ‘सर्वे भवन्तु सुखिन:’ को मूल मर्मलाई शिरोधार्य गरेर अगाडि बढ्दै अाइनै रहेको छ । सम्पूर्ण प्राणीहरुको रक्षा गर्नु पर्छ भन्ने मान्यता राखेको छ । कसैले पनि यो प्रकृतिको विरुद्धमा जानू नहुने रहेछ भन्ने शिक्षा यो भाइरसबाट सिक्नु जरूरी छ । प्रकृतिलाई सहन नसक्ने गरी प्रविधीले थिचोमिचो गरेमा त्यसको प्रतिरोध भइनै रहेको छ । यो सृष्टिलाई सहिरुपमा अगाडि बढ्न दिनु पर्दछ । आजको विश्वले अब प्राकृतिक सम्पदाको संरक्षण गर्दै आफ्नो प्रविधीको विकास गर्नु पर्ने हुन्छ । अझ यो विकराल रूपमा फैलिरहेको कोरोना भाइसलाई पराजित गरेर नयाँ तरिकाले अघि बढ्नु जरुरी छ । नेपाल जस्तो विकाशोन्मुख देशले त अझ सचेत हुनु जरूरी छ । नेपाली जनताहरु सचेत र सजग हुनुपर्छ । बल , घमण्ड र आडम्बरको भरमा अगाडि बढेमा कोरोनाको सिकार बन्नु पर्ने अवस्यम्भावी छ । दिन प्रतिदिन सङ्क्रमण बढ्दै जाँदा थप सचेत र सजग हुनुपर्छ ।सरकारले पनि नयाँ रणनीति अघि सारेर आफ्ना नागरिकलाई रोग , भोक र शोकबाट विमुख बनाउनु पर्दछ । कोरोनाप्रतिको विजय हासिल गर्ने यस पुनीत कार्यमा देशका तीनवटै तहबाट आफ्नो सक्रियता प्रभावकारी ढङ्गबाट अघि बढाउनु पर्ने देखिन्छ ।
विश्वमा पाैने चारलाख मानिसले ज्यान गुमाइ सक्दा पनि नेपालीले यसलाई सामान्यरूपमा लिनु दुखद् पक्ष हो । नेपालीहरुले आजका दिन सम्म पनि गम्भीररुपमा प्रस्तुत हुन नसकेकाले नै यो भयावह अवस्थाको सिर्जना भएको हो । तराईका जिल्लामा त खुल्ला सिमानाका बाबजुत पनि समस्या देखिएको हुन सक्छ । तर ग्रामीण भेगमा भने धेरै नै लारपरवाहि देखिन्छ । गाउँमा जनाताले कोरोनालाई सामान्य रुपमा लिने गरेका छन् । गाउँले जीवन व्यतीत गरिरहेका तल्लाघरे काका भन्नू हुन्छ ‘ हेर कान्छ हामी त ढुङ्गा माटामा हुर्केर ढुङ्गा माटा पचाइसकेका छौ ,यस्तो कोरोना सोरोनाले छुन्न ‘ । हो यस प्रकारका सोचाइ विचार अँगालेर हिड्ने सयौं काका, काकीहरुलाई सम्झाइ बुझाइ गर्ने जनशक्तिको अभाव देखिन्छ ।
एक तरिकाले हेर्ने हो भने हाल गाउँमा जनशक्ति धेरै नै छ। यति बेला यो गाउँलाई छाडेर गएका युवापुस्ताले कतै दशैं आएको भान दिलाएका छन् । अलिकति पढे लेखेका भनौंदा युवाहरुले पनि कोरोनालाई बेवास्था गरिदिंदा गाउँमै भयावह स्थिति नअाउला भन्न सकिन्न । गाउँमा अाएका युवाहरुको गतिविधी देख्दा दु:ख लाग्ने अवस्था छ । अलिकति गाउँमा बुज्रुक भनाउँदा युवाहरु नै हुन् , ती नै युवाहरु यस विश्व रोइरहेको अवस्थामा १०-१५ जना भेला भएर खसी ,रक्सि र जुवा तासमा डुबिरहेका छन् । गाँउमा भएका खसिहरु सबै सकिसकेका छन् । युवाहरुको यस्तो गतिविधीले ग्रामीण क्षेत्रले धेरै महङ्गो क्षति बेहोर्नु पर्ने हुन सक्छ । गाउँमा सचेत युवाहरुबाट यस्तो गतिविधी हुनु निन्दनीय पक्ष हो ।
अबका दिनमा युवापुस्ताबाट यस्ता गतिविधीलाई पूर्णरुपमा बन्द गर्नु नितान्त आवश्यक छ । मानो रोपेर मुरि फलाउने समयमा युवाहरु भेला भएर बस्नु हुन्न अब सजग र सचेत हुनु पर्छ । अब पनि सचेत नभए कहिले सचेत हुने ? हामी सचेत नभए को सचेत हुने ?