२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एसईईको मोडालिटी फेरिन सक्छ’



काठमाडाै‌ं – गएको चैत ६ गते हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसले निम्त्याएको परिस्थितिले स्थगित भएको छ । परीक्षा स्थगित भएको २ महिना नाघिसक्यो । लकडाउन लम्बिँदै जाँदा परीक्षा नै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । तर सरकार परीक्षा सम्पन्न गर्न विभिन्न विकल्पबारे सोच्दैछ । कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा विद्यालयको पठनपाठन पनि प्रभावित भइरहेको छ । अवरुद्ध पढाइ सुचारु गर्नेबारे सरकारले मोडालिटी तयार गर्न  सकिरहेको छैन । यसै विषयमा केन्द्रित रहेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग गरिएकाे कुराकानी :

कोरोनाले निम्त्याएको परिस्थितिको कारण एसईई परीक्षाबारे अन्योल बढिरहेको छ । यसबारे सरकारको तयारी के छ ?

एसईई परीक्षा नहुने भन्ने होइन । स्थगित मात्रै भएको हो । विद्यार्थीले परीक्षा दिन आउने वातावरण बनेपछि परीक्षा हुन्छ । तर यसको मोडालिटी परिवर्तन हुन सक्छ । परीक्षा नै नहुने होइन ।

सङ्क्रमण बढेसँगै लकडाउन लम्बिँदै गयो भने के गर्नुहुन्छ ? 

पहिलो प्राथमिकता विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा हो । कतिपय ठाउँमा लकडाउन खुकुलो भयो भने त्यहाँ परीक्षा सञ्चालन गर्न सक्छ । स्वास्थ्य विज्ञहरुको सुझाबका आधारमा हामीले कसरी अघि बढ्ने भन्ने तयारी गर्ने हो । अहिलेको अवस्थामा वैकल्पिक विधिहरु प्रयोग गर्नुपर्ने हुन सक्छ ।

परीक्षा हुन सकेन भने विद्यार्थीहरुको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

अनलाइनमार्फत विद्यार्थीहरुको मूल्याङ्कन गर्न सकिन्छ । त्यो पद्धति विज्ञहरुले भनेको आधारमा तयार गरिने छ । भर्ना भएकै दिनमा प्रश्नपत्र दिएर जाँच लिने अभ्यास पनि छन् कतिपय देशमा । परीक्षाको मोडेल परिवर्तन हुन सक्छ । तपाईंले भन्नेजस्तै परीक्षा नै नहुने होइन ।

यस विषयमा मन्त्रालयले केही तयारी गरेको छ ?

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले गर्ने काम भनेकै मन्त्रालयले गर्ने काम हो । बोर्ड अध्यक्षको संयोजकत्वमा कार्यदल बनेको छ । उहाँहरुले विभिन्न विकल्प ल्याउनुभएको छ । विकल्पहरुमाथि छलफल भइरहेको छ । कुन ठिक र कस्तो गर्दा ठिक हुन्छ भन्ने विषयमा निर्णय गर्न कामहरु भइरहेका छन् ।

कस्ता खालका विकल्पहरु आएका छन् र त्यसमाछि कस्तो छलफल भइरहेको छ ?

हामीसँग अहिले ७/८ वटा विकल्पहरु सुझाबका रुपमा आएका छन् । पहिलो विकल्प भनेको विद्यार्थीहरुले डेरा गरेर बस्नु पर्नेगरी परीक्षा केन्द्र तोक्नु हुँदैन ।  अर्को भनेको अहिलेका परीक्षा केन्द्रहरुमा सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले ती केन्द्रहरुमा यो सम्भावना छैन । अर्को विकल्प, देशभर एकैचोटी परीक्षा नलिएर प्रदेशगत रुपमा लिने । कतिपय देशले आन्तरिक मूल्याङ्कनलाई आधार मानेका छन् । हामी पनि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । धेरै विकल्पहरु आएका छन् । तर परीक्षा नै नगर्ने भन्ने लाइनमा हामी छैनौँ ।

केही समयअघि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नम्बर चढाउनुपर्ने सुझाव प्राथमिकताका साथ आएको थियो । यो विकल्पमा जान सकिन्छ ?

विभिन्न मोडालिटीमध्ये यो पनि एक हो । स्कुललाई नै परीक्षा लिन दिनुपर्छ भन्ने पनि छ । अनिवार्य विषयको मात्रै परीक्षा लिने कुरा पनि आइरहेको छ । भोलि शिक्षाको विषय श्रम बजार र अरु क्षेत्रसँग पनि जोडिन्छ । उच्च शिक्षामा जाने कुराहरु हुन सक्छन् । भोलि कानुनी जटिलता नआओस् भनेर नै हामीले घनीभूत छलफल गरिरहेका छौँ । परीक्षा नै गरिएन भने पछि विद्यार्थीहरुको भविश्यमा समस्या आउँछ कि भन्ने पनि छ । त्यसैले कुनैपनि विकल्प अपनाउँदा आइपर्ने समस्याबारे पनि जानकार हुनुपर्ने भएकोले हामी त्यतातिर पनि व्यस्त भइरहेका छौँ ।

परीक्षा कहिले हुन्छ, हुन्छ कि हुँदैन, पढाइको यात्रा अब कसरी अघि बढ्छ जस्ता जिज्ञासाले विद्यार्थीहरुमा धेरै उकुसमुकुस भइरहेका छन् । उनीहरु ढुक्क भएर बस्ने अवस्था कहिले आउला ?

एसईईभन्दा तलका विद्यार्थीको परीक्षा विद्यालयले लिने हो । उनीहरुको नतिजा प्रकाशन भएर पाठ्यपुस्तक पालिकाहरुमा पठाइसकेका छौँ । पाठ्यपुस्तक सुरक्षित तवरले विद्यार्थीसम्म पुर्याउने जिम्मा सम्बन्धित विद्यालयको हो । दोस्रो कुरा, पाठ्यपुस्तक पाएका छैनन् भने दाइदिदीसँग सापटी मागेर पनि अध्ययन गर्न सकिन्छ । तेस्रो कुरा, हामीले विद्यार्थीका लागि अभ्यासका किताबहरु पनि बनाएका छौँ । त्यो पनि छिट्टै पालिकामार्फत विद्यार्थीको हात पुर्याउँदै छौँ । 
स्वअध्ययन कसरी गराउने भन्नेबारे पनि अध्ययन भइरहेको छ । रेडियो, टेलिभिजन र अनलाइनमार्फत पनि विद्यार्थीहरुलाई पढाउने काम भइरहेको छ । समुदायमा रहेका शिक्षकहरुले समुदायमै रहेका नजिकका विद्यार्थीहरुलाई सहजीकरण गर्ने भन्ने पनि छ । त्यसकारण मेरो भविश्य अब के हुने होला भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन । हामीले अवस्था सहज बनाउनेतिर लागिपरेका छौँ । केही दिनमै हामी विकल्पबारे भन्छौँ । 

विद्यार्थीहरु मानसिक तनावमा पर्न थालेका छन् । कस्तो मोडालिटी अङ्गाल्ने भन्नेबारे निर्णय गर्न अलि हतार गर्नुपर्ने होइन र ?

चैत ६ गतेदेखि एसईई हुन्छ भनेर मैले नै चैत ४ गते भनेको थिएँ । परीक्षा दिन तयार हुनुस्, हामी हेल्थ डेक्स राखेर भएपनि परीक्षा लिन्छौँ भनेर मैले नै भनेको हुँ । तर परिस्थितिले गर्न सकिएन । परिस्थिति झन् विकराल भइराखेको छ । अहिले नै हामीले तिथि मिति तोक्न सक्ने अवस्थामा छैनौँ ।

यसको मतलब परीक्षाको विषयमा विद्यार्थीहरु अझै केही समय सरकारको निर्णय पर्खेर बस्नुपर्ने हुन्छ ?

एसईई परीक्षाबारे तनाब लिएर बस्नु पर्दैन । अहिलेदेखि नै तनाब लिएर पढ्नु आवश्यक छैन । तर पढिरहेका कुराहरुलाई ‘रिभाइज’ गर्दा राम्रो हुन्छ । विभिन्न माध्यमबाट तयारीका कार्यक्रमहरु ल्याइरहेका छौँ । स्थिति सहज भएपछि पनि विद्यार्थीहरुलाई प्रयाप्त समय दिएर परीक्षा लिन्छौँ । अन्तिम अवस्थामा पनि हाम्रो जोडबल परीक्षा नै लिने हुन्छ । विद्यार्थीमा द्विविधा हुनु स्वभाविक हो । हामी थप गृहकार्यमै छौँ ।

परीक्षा हुन नसकेर आन्तरिक मूल्याङ्कनमा जानुपर्ने भयो भने त्यसको मोडालिटी कस्तो हुन्छ ?

त्यो विकल्पमा जानुपर्ने भयो भने तपाईंले भन्नुभएका पाटाहरुमा छलफल हुन्छ । तर हामीले यो विकल्प नै अन्तिम भनेका छैनौँ । हाम्रो जोडबल अहिले पनि जसरी पनि परीक्षा गराउने नै हो । – उज्यालाे

प्रकाशित मिति : २०७७, १४ जेठ बुधबार ००:००  १ : ५९ बजे