२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभरका पर्यटक तान्दै हेलम्बु : पर्यटन प्रवर्द्धनमा थप सकृयता बढाउँदै स्थानीय सरकार



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले विश्वभरका पर्यटक तान्ने गरि पर्यटन प्रवद्र्धनका काम अघि बढाएको छ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने योजनासहित गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा सकृयता बढाएको हो ।

पर्यटकिय हिसाबले प्रचुर सम्भावना रहेको हेलम्बुलाई पर्यटन नै समृद्धिको आधार बनाएर विकास गर्ने योजना अनुसार काम भइरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले बताए । राजधानीबाट नजिकको मनोरम पर्यटकीय गन्तव्य भएकाले राजधानीबासीलाई शुक्रबार हेलम्बुमा स्वागत गरेर शनिवार हेलम्बु घुमाएर आइतबार बिहान कार्यालय समयमा फर्किन सक्नेगरी प्याकेजका कार्यक्रम बनाएर पर्यटक आकर्षित गराइने उनको भनाई छ ।

गुम्बाको सहर र धार्मीक पर्यटकीय क्षेत्रका रुपमा परिचित हेलम्बुलाई धर्मगुरुहरुको हेलम्बुसँग सम्बन्धित इतिहासको संरक्षण गर्दै विभिन्न धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा विकास गर्न गाउँपालिकाले नीतिगत रुपमा काम गरिरहेको छ ।

हेलम्बुबाट आमायाङ्रीसहितका विभिन्न पदमार्ग हुँदै लाङटाङ जाने ट्रेकिङ रुढको विकास गरिएको छ । 

राजधानीलाई पानी खुवाउने मेलम्चीको आयोजनाको मुहान र अधिकांश सुरुङ पनि हेलम्बु क्षेत्रमा पर्ने भएकाले मेलम्चीको पानीको मुहानसँग जोडेर पर्यटकीय गतिविधि बढाइएको छ ।

पर्यटकको आकर्षणका लागि चाइनाको ग्रेटवाल जस्तै हेलम्बु ग्रेट टेल निमार्ण गरिएको छ । करिब ५ किलो मिटर ग्रेट टेल निमार्ण भइसकेको छ ।

हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइन्छ ।  हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बनेको पुलमा बञ्जीजम्प खेल सञ्चालन गर्न लागिएको हो ।

बञ्जीजम्पका लागि तीन सय ७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । 

हेलम्बुमा प्याराग्लाइडिङको सम्भाव्यता समेत अध्ययन गरिएको छ ।

हेलम्बु घुम्न आउने पर्यटकको सहजताका लागि स्थानीय उत्पादनको परिकार खुवाउने गरी घरबास सेवा (होमस्टे) सञ्चालन गर्ने र स्थानीय समुदायको संस्कार र संस्कृतिबाट पर्यटकलाई स्वागत गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोको भनाई छ ।

पर्यटनको प्रचुर सम्भावना भएको हेलम्बु पर्यटकको पर्खाइमा छ । यहाँबाट देखिने सुन्दर हिमश्रृङ्खला, धार्मीक तथा ऐतिहासिक सम्पदा र डाँडा पाखाले पर्यटकको स्वागत गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, ५ मंसिर मंगलबार ००:००  ४ : ३७ बजे