२०८१, ३ जेठ बिहीबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युगकवि सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मजयन्ती आज, कोरोनाका कारण औपचारिक कार्यक्रम भएन



नबिन धमला
अनलाइन सराेकार

क्रान्तिबिना लौ कसले देख्यो, शान्तिपुरीको घरबार
क्रान्ति उज्यालो चाहिन्छ, यहाँ नेपाली यी सुकुमार

युगकवि सिद्धिचरण श्रेष्ठ

वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगा जिल्लामा जन्मेका सिद्धिचरणले संवत् १९९० सालमा भुइँचालो कविता लेखनबाट आफ्नो साहित्यिकयात्रा आरम्भ गरेका हुन् । राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्न उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा राम्रो सन्देश(प्रवाह गरेको छ । उनका कवितामा एकातर्फ प्रकृतिप्रेम र मानवीय वेदना प्रतिविम्बित छ भने अर्कोतर्फ समाज सुधारको पक्ष पनि दह्रो छ । सफल प्रकृति चित्रण र समाजलाई युगबोध चेतनातर्फ अभिप्रेरित गर्नु कविको वैशिष्ट्य कर्म हो ।

मुलुकभित्र र बाहिरसमेत तत्कालीन नेपाली समाजमा जनचेतना र जागरण अभिवृद्धि गर्ने अन्य कार्यमा संलग्नहरूले जस्तै देशका सबै साहित्यिकहरूले पनि गहन भूमिका खेलेका थिए । तत्कालीन राजनीति र साहित्यिक जगतमा विद्रोह र क्रान्तिको शंखघोष गर्ने प्रातः स्मरणीय विशिष्ट प्रतिभा युगकविले कविताको माध्यमद्वारा युगचेतना र जागरणको आन्दोलन आरम्भ गरेका हुन् ।
नेपाली साहित्यमा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट स्थान छ । नेपाली साहित्यजगत्का सुविख्यात कविहरूमध्ये सिद्धिचरण एक हुन् । उनको कविताशिल्पको अन्तिम खोज मानव हो । उनका कवितामा विश्वको व्यथा छ, निजी मर्मस्पर्शिता छ, समाज सुधार्ने सामथ्र्य छ । उनका कवितामा देशप्रेम भरिएको छ । कवितामा जति प्रकृतिको उपासना र आराधना पाइन्छ, त्यति नै राजनीतिक चेतना र वेदनाको सहज धारा-प्रवाह जीवन्त छ । उनको कवितामा विरोधाभाष छैन सामाञ्जस्य छ । प्रकृतिको अत्यन्त सरल चित्रण गर्नु तथा समाजलाई उठ्ने चेतना दिनु उनको लेखनको वैशिष्ट्य हो। नेपाली साहित्य समाजमा जनचेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी तथा युगकविका रूपमा अमर अजर छन् । नेपाली काव्यसाधनामा नवीन आयाम र चमत्कारी शैली शिल्पका धरोहर युगकविको योगदान उनका समकालीनहरूभन्दा धेरै पृथक छ ।

मानव मात्राका लागि बन्दनीय व्यक्तित्व सिद्धिचरणले आधुनिक नेपाली भाषासाहित्यको प्रवद्र्धनमा ऐतिहासिक योगदान र्पुयाएका छन् ।
नेपाली साहित्यका सिद्धिचरण पनि एक उत्कृष्ट मानवतावादी कवि हुन् र उनको कविताको अन्तिम खोज मानव नै हो ।

नेपाली राष्ट्रप्रेमप्रति मार्मिक चेतना-प्रवाह रहेको उनको एउटा कवितांश ।
क्यारुँ म यो देश निमित्त क्यारुँ
नाचु कि गाउँ कि गला मिलाऊँ !
सहर्ष काटी शिरमै चढाऊँ
यो श्वास जम्मै यसमै मिलाऊँ !

नेपाली साहित्यमा महाकवि देवकोटाजस्तै स्वच्छन्दतावादी कवि सिद्धिचरणले नेपाली र नेवारी भाषामा क्रान्तिकारी कवितालेखन अन्तर्गत क्रान्ति शब्दको प्रयोग गरेबापत उनलाई वि.सं. १९९६ सालमा १८ वर्ष कैद सजाय र सर्वस्वहरणको घोषणा गरिएको थियो । त्यस्तै १९९५ साल माघमा वर्षा शीर्षकको कविता लेखेबापत सर्वस्वहरणसहीत २० वर्ष कैद सजाय तोकी उनलाई जेल पठाका थिए, तर उनी २००२ सालमा जेलमुक्त भए । राणा शासनको दमन र अत्याचारको विरोध गर्नेमध्येका एक सिद्धिचरणले ६ दशकसम्म नेपाली कविता र काव्यशिल्पद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउन विशिष्ट योगदान र्पुयाए । यस क्षेत्रमा विशिष्ट योगदान गरेका युगकविले नेपाली र नेवारी भाषामा झन्डै दुई दर्जन कृतिहरू साहित्य भण्डारलाई अर्पण गरेका छन् । झन्डै सात दशकको सक्रिय जीवनकालमा भाषासाहित्य, कलासंस्कृति, सामाजिक एवं राजनीतिक चेतनाका संवाहक रहँदै ८० वर्षको दीर्घायु जीवन भोग गरेर २०४९ जेठ २२ गते जन्मेकै महिनामा शिक्षण अस्पताल महाराजगन्जमा उनको देहवसान भयो ।

उनका सुपुत्र रविचरण श्रेष्ठ युगकवि सिद्धिचरण प्रतिष्ठानका प्रमुख संरक्षक हुन् । यस प्रतिष्ठानलाई चलायमान र जीवन्त राख्न उनको महत्ववपूर्ण योगदान रहेको छ ।

वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगा जिल्लामा जन्मेका सिद्धिचरणको आज १०९ औं जन्म जयन्ती हो । ओखलढंगामा युग कबि सिद्धिचरण श्रेष्ठका जन्म जयन्तीमा बिभिन्न कार्यक्रम गरिदै आएको थियो तर यस बर्ष कोरोना महामारीका कारण भब्य कार्यक्रम नगरे पनि सम्झनास्वरुप फुल अक्षेता चडाएर सम्मान गरिएको सिद्धिरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले अनलाइन सरोकारलाई बताए ।

प्रकाशित मिति : २०७७, ९ जेठ शुक्रबार ००:००  १० : ०० बजे