२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खिजीदेम्बामा कोरोना रोकथाम खर्च करिब ९० लाख ! कुन शिर्षकमा कति ?



ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बामा कोरोना संक्रमण रोकथामका लागि करिब ९० लाख रकम खर्च भएको छ । २०७६ चैत्र ११ गते देखि २०७७ असार मसान्त सम्ममा कोरोना रोकथाममा ८९ लाख ४४ हजार ९ सय ७९ रुपैंया खर्च भएको हो ।

कुन शिर्षकमा कति खर्च ?

गाउँपालिकाले सार्वजानिक गरेको विवरण अनुसार अस्पताल स्तरीय बेड ३० थान, ४५ वटा क्वारेन्टाइन बेड व्यवस्थापन, क्वारेन्टाइनका अन्य आवश्यक सामाग्रीहरु खरिदमा ७ लाख ८९ हजार ९१ रुपैंया, क्वारेन्टाइनमा व्यक्तिगत सरसफाई सामाग्री खरिदमा ३० हजार, गाउँपालिका भित्रका सबै क्वारेन्टाइनमा बसेकाहरुको खाना खाजा खर्च ५५ हजार ७ सय ५ रुपैंया, क्वारेन्टाइन वा आइसोलेसनमा बस्नेहरुका लागि रोगप्रतिरोधात्मक तथा विपद्का बेला नियमित आवश्यक पर्ने औषधीको जोहोमा २ लाख १५ हजार रुपैंया, औषधीजन्य सामाग्री अन्तर्गत पालिका भित्रका सबै नागरिकका लागि १ व्यक्ति १ मास्क, सेनिटाइजर, पिपिइ तथा स्यानीटाइजीङ बस्तु, हेल्प डेक्स, स्वास्थ्य संस्था सरकारी कार्यालयहरु गाउँपालिका वडा लगायतका स्थानमा आवश्यक थप स्वास्थ्य सामाग्री खरिदमा ९ लाख २६ हजार ६ सय ३९ रुपैंया खर्च भएको छ ।

गाउँपालिकाकै खर्चमा ल्याव सञ्चालन गरि कर्मचारी समेत पालिकाले नियुक्ती गरेर स्वाब संकलन गर्दै नागरिकलाई गाउँमै सेवा दिएको खिजीदेम्बाले थर्मलगन, आरडिटी किट, पिसिआर परीक्षणका लागि भिटिएम किट लगायतका सामाग्री खरिदमा ३ लाख ७९ हजार रुपैंया खर्च गरेको छ । कोरोनाको कहर सुरुहुँदा जिल्लामै पहिलो पटक थर्मल गन, पिपिई, सहितका स्वास्थ्य सामाग्री खिजीदेम्बाले व्यवस्थापन गरेको थियो ।

लकडाउनको समयमा रोजगारी गुमाएर खाद्यन्न अभाव झेलेका नागरिलाई १७ लाख ३४ हजार ९ सय ७ रुपैंयाको खाद्य सामाग्री वितरण गरिएको विवरणमा उल्लेख छ । केही संघ संस्थाको समेत सहयोगमा खिजीदेम्बामा ११ सय ५० घरधुरीलाई खाद्यन्न राहत वितरण गरिएको थियो ।

स्वास्थ्यकर्मी जोखिम भक्तामा ११ लाख ३२ हजार ३ सय ५० रुपैंया खर्च भएको छ । गाउँपालिकामा खटिएका सबै स्वास्थ्यकर्मीलाई जोखिम व्यवस्थापनमा खटिए वापत दिईएको थियो । स्वास्थ्य चौकीमा खटिनेलाई ५० प्रतिशत र थप जिम्मेवारी सहित नाकामा खटिएकालाई सय प्रतिशत भक्ता दिईएको थियो ।

विदेशबाट फर्किएका नागरिकलाई होल्डिङ सेन्टरबाट क्वारेन्टाइन वा पालिका सम्म लैजाँदाको खर्च, आरडिटी परीक्षणका लागि स्वास्थ्यकर्मी समेतको यातायात खर्च ९६ हजार, कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समन्वय समितिको विभिन्न समयमा बसेको बैठक भत्ता तथा खाजा खाना शिर्षकमा ९२ हजार ८ सय ९२ रुपैंया खर्च भएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीका लागि अत्यावश्यक सूचना प्रवाहका लागि सञ्चार खर्च ७७ हजार ५ सय, जिल्ला र आसपासका एफएम रेडियो, राष्ट्रिय स्तरका टेलिभिजन, अनलाइन सहितका सञ्चारमाध्यम मार्फत सन्देशमुलक सूचना प्रशारण, गाँउमा सचेतनाका लागि गरिएको माइकिङ लगायत खर्च २ लाख ९२ हजार छ । पालिका भित्रका सबै ९ वटै वडा, गाउँपालिका, पालिकास्थित सरकारी कार्यालय र स्वास्थ्य संस्थाहरुले आ आफ्नो तर्फबाट सन्देश प्रवाह गरेका थिए । त्यसको सबै लागत पालिकाले व्यहोरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए ।

खिजीदेम्बामा अलपत्र नागरिक उद्धारमा मात्रै १५ लाख ५३ हजार खर्च भएको छ । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा रहेका बन्दा बन्दिमा परेका नागरिकहरुलाई बस लगायत साना सवारी रिजर्भ गरेर गाउँपालिका सम्म ल्याउँदा उक्त रकम खर्च भएको देखिएको हो । उद्धार गरिएको ताका जनप्रतिनिधिहरुले व्यक्तिगत खर्चमा अलपत्रलाई गाउँ फर्काएको सन्देश दिन खोजेपनि सवारी खर्च गाउँपालिकाबाट निकासा गरेको खुलेको छ ।

त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई अत्यावश्यक कार्यका लागि गाउँपालिका बाहिर र वडा टोलबस्तिमा जाँदाको सवारी भाडा तथा औषधी ढुवानीमा १ लाख ३५ हजार २ सय १० रुपैंया, गैरसरकारी संस्था तथा निकायबाट प्राप्त भएको राहत सामाग्री प्रत्येक टोलमा ढुवानी खर्च १ लाख २९ हजार ९ सय खर्च भएको छ ।

सूचना सहजकर्ताको पारिश्रमिकमा ७ लाख ५३ हजार १ सय ३१ रुपैंया खर्च भएको छ । कोरोना कहरमा अलपत्र परेका नागरिकको अवस्था र तथ्याङ्क संकलन, वडा वडामा रहेका दिर्घ रोगी अशक्त र असंगठित क्षेत्रका व्यक्तिहरुकोे तथ्याङ्क संकलन गर्न, राहत विरणमा सहयोेग गर्न, विपद तथा उद्धार लगायतका काम गर्न प्रत्येक वडामा २ जनाका दरले १८ जना सूचना सहजकर्ता २ महिना सम्म परिचालन गरेको थियो ।

गाउँको सुरक्षामा खटिएका प्रहरीलाई समेत पालिकाले भत्ता दिएको छ । प्रहरी चौकी जोखिम भत्ता शिर्षकमा ६९ हजार ९६ रुपैंया खर्च देखाईएको छ । इलाका प्रहरी चौकी खिजीफलाटे र मातहतमा रहेका सुरक्षाकर्मीका लागि विपद्मा खटिए बापत उक्त रकम भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

गाउँपालिका भित्रका प्रत्येक घरमा १ घर २ डल्ला डिटोल तथा लक्स साबुन वितरण र सरकारी कार्यालय तथा संघ संस्थामा साबुन तथा आवश्यक सामाग्रीमा २ लाख ९५ हजार ८ सय १३ रुपैंया, ल्याव असिस्टेन्ट, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि भ्रमण भत्ता ८९ हजार ४ सय २५ रुपैंया, गाउँपालिका, वडा, स्वास्थ्य संस्था तथा प्रहरी चौकीको संलग्नतामा बस्तिस्तरमा विभिन्न स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम खर्च, छपाई र अन्य विविध खर्च ९८ हजार ३ सय २० रुपैंया खर्च देखाईएको छ ।

जिल्लाका स्थानीय तहले धमाधम कोरोना खर्च सार्वजानिक गरिरहेका छन् ।

हाल सम्म विवरण सार्वजानिक गर्ने स्थानीय तह मध्ये खिजीदेम्बाको खर्च सबैभन्दा बढी देखिएको छ ।

किन भयो बढी खर्च ?

खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले भने रकम खर्च भएपनि कोरोना संक्रमण रोक्ने अभियानमा आफुहरुलाई सफलता मिलेको बताए । देशका विभिन्न ठाउँबाट करिब १ हजार भन्दा बढी नागरिक गाउँ फर्काइएको, पालिका भित्रका सबै मानिसलाई मास्क, साबुन र खाना अभावमा गुज्रिएकालाई खाद्यन्न समेत वितरण गरिएकाले खर्चको मात्रा बढि देखिएको उनले बताए । पालिकास्तरमै कोरोना परीक्षणका लागि स्वाब संकलन र त्यसका लागि आवश्यक पर्ने सबै व्यवस्थापन गर्ने कार्यपालिकाको निर्णय अनुसार खर्च भएको तर अनियमित खर्च नभएको उनको तर्क छ । ‘गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति, वडास्तरीय समिति, स्थानीय समन्वय समिति र कार्यपालिकाको निर्णय अनुसार खर्चको स्रोत जुटाएर आवश्यकताका आधारमा खर्च गरिएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने,‘झट्ट हेर्दा खर्च अलिक बढि भए जस्तो देखिन्छ तर हामी जसरी पनि कोरोना संक्रमण रोक्ने अभियानमा थियौं र छौं पनि । त्यो कार्यमा अनेकौं जोखिम न्यूनिकरणमा सफलता मिलेको छ । समुदायस्तरमा हाम्रो पालिकामा संक्रमण फैलिएको छैन ।’ खरिद गरिएका स्वास्थ्य उपकरण र औषधीहरु आगामी दिनका लागि समेत तयारी अवस्थामा राखिएको उनको भनाई छ ।

गाउँपालिका अन्तरगत भएका सबै सार्वजानिक खरिद ऐन तथा नियमावलीमा भएको  विशेष परिस्थितीमा खरिद गर्ने सम्बन्धि व्यवस्था बमोजिम खरिद भएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको दुर्गम मानिने खिजीदेम्बामा कोरोनाको कहर व्यवस्थापन गर्न निकै चुनौति थियो । पालिका भित्र सञ्चालनमा रहेका विद्युत आयोजना र अन्य योजनामा भारतिय कामदारहरुले काम गरिरहेका थिए । उनिहरुको आवत जावत र राजधानीबाट हतारमा एकै पटक धेरै मानिस गाउँ ल्याईएकाले संक्रमणको त्रास बढेको थियो ।

सरुवा भएर आएका प्रहरी परिवारकी एक किशोरीमा बाहेक खिजीदेम्बामा समुदाय स्तरमा कोरोना फैलिएको छैन ।

खर्चको स्रोत के हो ?

खिजीदेम्बा गाउँपालिकाले विपद् जोखिम न्यूनिकरण गर्न रकम अभाव हुन नदिने नीति लिएको थियो । छुट्टै कोष स्थापना गरेर स्रोत व्यवस्थापन गरिएको थियो । उक्त कोषमा पालिकाका जनप्रतिनिधिहरुलेकरिब डेढ महिनाको सेवा सुविधा बापतको ८ लाख १० हजार रकम जम्मा गरेका थिए । कार्यापालिका र वडाका कर्मचारीले तलबबाट २ लाख ४७ हजार ८ सय ८७ रकम जम्मा गरेका थिए । घरबसेकाको १० दिन र नियमित काम गर्नेहरुको ५ दिनको तलब कोषमा जम्मा गरिएको थियो ।

विभिन्न शिर्षकका योजना कटौती गरेर ८२ लााख १० हजार रकम कोषमा जम्मा गरिएको थियोे । कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारले उपलब्ध गराएको ५ लाख र विपद् कोषबाट ८ लाख २ हजार ७ सय १५ रुपैंया कोरोना कोषमा जम्मा गरिएको थियो ।

१ करोड ५ लाख ७० हजार ६ सय २ रुपैयाको स्रोतबाट ८९ लाख ४४ हजार ९ सय ७९ रुपैंया खर्च गरिएको छ । बाँकी रहेको १६ लाख २५ हजार ६ सय २३ रुपैंया र ६५ लाख चालु आर्थिक वर्षमा विनियोजन गरेर यसवर्ष कोरोना तथा विपद् व्यवस्थापनका लागि ८१ लाख २५ हजार ६ सय २३ रुपैंया राखिएको खिजीदेम्बा गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार ००:००  ३ : ४७ बजे