२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभा सदस्य बन्न नेताहरूको दौडधुप

२० फागुनमा को–को बिदा हुँदै छन् ?



आगामी ११ माघमा हुने राष्ट्रिय सभामा रिक्त २० सांसदको निर्वाचनका लागि उम्मेदवार बन्न सत्तारूढ दलमा आकांक्षीको दौडधुप सुरु भएको छ । शीर्ष तहमा सम्बन्धित दलले जितेको सिट यथावत् राखेर एमालेले जितेका नौ सिटमा भागबन्डा गरिने भएको छ । यद्यपि, हालसम्म गठबन्धनमा औपचारिक छलफल भने भइसकेको छैन । दलहरूले आन्तरिक छलफल गरेर पुसको पहिलो साता गठबन्धनको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे औपचारिक छलफल गर्ने नेताहरूले बताएका छन् ।

राष्ट्रपतिबाट मनोनीत भएको एक, बागमतीमा चार, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन तथा कोशी, मधेश र लुम्बिनीमा दुई–दुई गरी २० सिट रिक्त हुँदै छ । १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । एमालेबाट मनोनीतसहित नौ सांसदको म्याद सकिँदै छ । कांग्रेसबाट चार, माओवादीबाट तीन, एकीकृत समाजवादीबाट एक स्वतन्त्रसहित तीन र जसपाका एक सांसदको समयावधि सकिँदै छ ।

एमालेका नौ सांसदको स्थानमा गठबन्धन दलले भागबन्डा गर्ने तयारी छ । तर, दलका दाबी धेरै छन् । नेताहरूका अनुसार कांग्रेसले थप सात, माओवादी र एकीकृत समाजवादीले थप पाँच–पाँच र जसपाले थप एक सिट दाबी गरेका छन् । गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले पनि एक सिट दाबी गरेको छ । त्योभन्दा पनि धेरै दलभित्र आकांक्षी छन् । दलका पदाधिकारीलाई भेटेरै र फोनमार्फत आकांक्षा देखाउने संख्या दर्जनौँ छ । ‘दर्जनौँ नेताले आकांक्षा देखाउनुभएको छ । भेटेरै र फोनमार्फत पनि आकांक्षा राख्नुभएको छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । विचारको विकासमा अध्यक्षलाई सहयोग गर्न लागिपर्ने उनले बताए । माओवादीले ३ पुसमा पदाधिकारी बैठक बोलाएको छ ।

२० फागुनमा को–को बिदा हुँदै छन् ?
गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका सांसदहरूको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई छन् । कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी छन् । एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा छन् । जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव छिन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदै छ । देवकोटा कलम चिह्न लिएर गठबन्धनबाट निर्वाचित भएका थिए ।

बिहीबारसम्म १० दल दर्ता, कांग्रेस बाँकी
राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबारसम्म १० वटा दल दर्ता भएका छन् । जसमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, नेपाल समाजवादी पार्टी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार कांग्रेस अझै दर्ता भएको छैन । दल दर्ताको समय शुक्रबारसम्म छ । आयोगले अन्तिम मतदाता नामावली ५ पुसमा सार्वजनिक गर्नेछन् । यसैगरी, सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोल्न न्यायपरिषद्सँग निर्वाचन अधिकृतको नाम मागिएको छ । ‘आवश्यक सबै तयारी भइरहेको छ । माघ ११ गते शान्तिपूर्ण वातावरणमा मतदान हुन्छ,’ सहायक प्रवक्ता अर्यालले भने ।

अध्यक्षमा तीन दलकै दाबी

सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीले राष्ट्रिय सभाको भावी अध्यक्षमा दाबी गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिन लागेकाले भावी अध्यक्षका लागि दलहरूले दाबी गरेका हुन् । कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठले अध्यक्षका लागि लबिङ गरेका छन् । उनीहरू आगामी निर्वाचनमा राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बन्ने कोसिसमा छन् । माओवादीले उपाध्यक्ष पद छाडेर अध्यक्ष लिन चाहेको छ । प्रधानमन्त्रीमा आलोपालो हुने भएकाले राष्ट्रपति कांग्रेस र सभामुख एमालेको भएकाले पार्टीले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने माओवादीको मत छ । माओवादीबाट नारायण दाहाल र वर्तमान उपाध्यक्ष उर्मिला अर्याल दाबेदार छन् । एकीकृत समाजवादीबाट प्रमेश हमाल मुख्य दाबेदार छन् । हमाल पनि सदस्य हुँदै अध्यक्ष बन्ने लबिङमा छन् ।

मध्यपहाडी यात्राबाट फर्किएपछि मात्र एमालेले तयारी थाल्ने

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनले समीकरण बनाएर चुनाव लड्ने गरी आन्तरिक छलफल सुरु गरे पनि राष्ट्रिय सभामा ठूलो दल रहेको एमालेले भने चुनावका विषयमा कुनै तयारी गरेको छैन । पार्टी अध्यक्ष केपी ओलीसहित पदाधिकारी, स्थायी समिति सदस्य र अधिकांश केन्द्रीय सदस्य २ पुससम्म चल्ने मध्यपहाडी लोकमार्ग संकल्प यात्रा अभियानमा व्यस्त रहनुपरेकाले पनि चुनावतिर ध्यान दिन नपाएको एमालेले जनाएको छ ।

‘हामीले अहिले चुनावको कुनै तयारी गरेका छैनौँ, सामान्यतया निर्वाचन आयोगको कार्यतालिकाअनुसार दल दर्तालगायत काम मात्रै गरिरहेका छौँ, उम्मेदवारी के गर्ने, कसलाई उठाउने केही पनि छलफल गरेका छैनौँ,’ एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले भने, ‘कुनै पनि प्रदेशमा कसैको पनि बहुमत छैन, गठबन्धनका सबै दल मिल्नुभयो भने उहाँहरूकै बहुमत हुन सक्छ, तर हामी के गर्ने, कसरी जाने परिस्थितिको आकलन गरेर, स्थिति हेरेर मात्र निर्णय लिन्छौँ ।’ दाहालले पार्टी अध्यक्ष ओलीसहितका नेताहरू २ पुसमा काठमाडौं फर्किएपछि मात्र राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा पार्टीले छलफल गर्ने पनि जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन भर्सेस एमाले हुने सम्भावना छ । जसका कारण पनि एमालेले गठबन्धन भत्काउने कि अरू दलसँग मिलेर चुनावको सामना गर्ने अहिलेसम्म दोधारमै छ ।

राष्ट्रिय सभामा एमालेबाट १७ जना सांसद छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमलाई समेत गणना गर्ने हो भने सिट संख्या १८ हुन्छ । तर, उनी अहिलेसम्म प्रस्टसँग कतै खुलेका छैनन् । यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एमाले आठ सांसदमा सीमित हुनेछ । गठबन्धन भत्काउन असफल भए एमालेले ती सिट संख्या यो चुनावबाट गुमाउने सम्भावना प्रबल छ ।

प्रकाशित मिति : २०८०, २९ मंसिर शुक्रबार ००:००  ११ : ३२ बजे